Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


ईपीजीको प्रतिवेदन पाँच वर्षदेखि थन्किँदा दुःख लागेको बाबुराम भट्टराईकाे भनाई


312
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र भारतका प्रबुद्ध व्यक्ति सम्मिलित समूह (ईपीजी) को प्रतिवेदन पाँच वर्षदेखि थन्किँदा दुःख लागेको बताउनु भएको छ ।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमार्फत विगत पाँच वर्षदेखि ईपीजीको प्रतिवेदनमा धूलो जम्मा हुनु दुर्भाग्यपूर्ण भएको बताउनु भएको हो ।

उहाँले विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा किन लत्याएको भनेर प्रश्नसमेत गर्नुभएको छ ।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘विगत पाँच वर्षदेखि प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनमा धूलो जम्मा हुनु दुर्भाग्यपूर्ण छ । ईपीजीको अवधारणाको प्रारम्भकर्ताको रूपमा (भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगै) म गहिरो पीडा महसुस गर्छु। २१औँ शताब्दीको माग अनुरूप सदियौं पुरानो नेपाल–भारत सम्बन्धलाई व्यापक रूपमा नयाँ उचाइमा पुर्‍याउने सम्पूर्ण विचार थियो ।’

उहाँले थप्दै लेख्नु भएको छ, ‘इतिहासमा जताततै नजिकका छिमेकीहरूले आपसी परामर्श मार्फत विगतका सन्धि र सम्झौताहरूको बेलाबेलामा समीक्षा गर्छन् र राम्रो भविष्यको लागि अगाडि बढ्छन्। त्यसैअनुसार सन् १९५० को सन्धि, सीमा समस्या, व्यापार तथा पारवहन मामिला, सुरक्षा चासोलगायतका द्विपक्षीय सम्बन्धका सम्पूर्ण पङ्क्तिको समीक्षा गर्न दुवै पक्षबाट इपीजीलाई अधिकार दिइएको थियो। त्यसोभए कुनै राम्रो विकल्प उपलब्ध नगरी यसलाई किन अनौपचारिक रूपमा खारेज गरियो, विशेष गरी भारतबाट ? गलैँचा मुनि समस्याहरू जोड्दा यसले दुवै पक्षका लागि थप हानिकारक नतिजाहरू मात्रै निम्त्याउनेछ ।’