२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


राज्यबाट बिदाई भएका उच्च सरकारी अधिकारीलाई राज्यबाटै पुनः अवसर


1.495k
Shares

काठमाडौं । राजनीतिक नेतृत्वलाई प्रभावमा पारे आफ्नो कलमको मसीले आफ्नै भविष्यको अर्को कर्मरेखा कोर्ने निजामती सेवाका सारथी मुख्यसचिवको लालची शैलीलाई निवर्तमान मुख्यसचिव शंकरदास वैरागीले पनि निरन्तरता दिनुभएको छ । कर्मचारीको अभिभावकत्व लिन चुकेको भनेर आलोचना खेप्दै आएका बैरागीले मन्त्रीसरहको सल्लाहकार पदमा सौदाबाजी गर्नुभएको छ ।

एउटा राजनीतिक नेतृत्वले नियुक्ति गर्ने अर्कोले आफ्नो रुचिको मुख्यसचिव बनाउन लाभको पद दिएर थामथुम पार्ने प्रवृत्तिले एकपछि अर्को गर्दै निरन्तरता पाउँदै आएको छ । शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका सचिव बैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिवको जिम्मेवारी दिएको छ । यसैगरी निवर्तमान मुख्यसचिव मुख्यसचिव शंकरदास वैरागी मन्त्री सरह सेवा सुविधा पाउने गरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बन्नुभएको छ ।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई राजीनामा दिन लगाएर केपी ओली नेतृत्वको सरकारले बेलायतको राजदूत बनाएर पठाइएको थियो । नेतामाथि उहाँको प्रभाव कस्तो थियो भने समय नपुगेका रेग्मीलाई अवसर दिलाउन तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाका लागि राजेन्द्रकिशोर क्षेत्रीलाई अड्को फड्को मुख्यसचिव बनाउनु भएको थियो ।

सेवा निवृत्तिको चरणमा पुगेका अधिकांश उच्च सरकारी अधिकारीहरूको चासो नै अवकाशपछिको जागिरमा अडिएको हुन्छ । कतिपय सचिव अवकाशपछि संवैधानिक निकाय, नेपाल राष्ट्र ब्यांक, बीमा समिति नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल विद्युत् प्राधिकरण आदि संस्थामा नियुक्ति लिएका छन् । कतिपय निवृत्त कर्मचारीहरु एनजिओ खोलेर परामर्शदाताको रुपमा सरकारी निकायबाट मोटो रकम बुझिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनको सचिवबाट घर जानुअघि दिनेश थपलियालाई निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति दिलाइयो । नेपाल कम्युनिष्ट पार्टी विघटनमा सघाएवापत सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका दाजु माधव रेग्मीलाई लोकसेवा आयोगका अध्यक्षमा नियुक्ति दिलाइएको चर्चाले त्यतिखेर बजार गर्माएको थियो । यसका अलावा लोकसेवा आयोगका सदस्यमा पूर्व सचिव माधव बेलबासे र बीरबहादुर राई अद्यावधि कार्यरत हुनुहुन्छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालले अवकाश पाएको भोलिपल्टै त्यहाँस्थित लोकसेवा आयोगको अध्यक्षमा नियुक्ति लिनुभयो । उसैगरी स्टाफ कलेजको प्रमुखका रुपमा अवकाशप्राप्त सचिव राजन खनाललाई जिम्मेबारी दिइयो । लोकसेवा आयोग हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा पुगेका आनन्दराज ढकाल पनि उसैगरी अवकाश पछि स्टाफ कलेजमा जागिर खानुभयो ।

गृहसचिवबाट अवकास प्रेमकुमार राई अख्तियार हाँकिरहनुभएको छ । जागिर अवधि बाँकी रहँदै त्यहाँ राष्ट्रपतिको कार्यालयबाट डा हरि पौडेलले नियुक्ति पाउनुभएको छ । राष्ट्र बैंकबाट अवकास पाएका डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, गभर्नर, मन्त्री हुँदै अमेरिकाको राजदुत बन्नुभयो । यस अघि लोकसेवा आयोग अध्यक्ष उमेश मैनाली र महालेखा परीक्षकबाट निवृत्त टंकमणि शर्मा पनि पूर्व प्रशासक हुनुहुन्छ । पूर्व सचिवद्वय महेन्द्रमान गुरुङ र सूर्य सिलवाल सूचना आयोग–वीमा समितिमा जागिर खाइरहनुभएको छ ।

मुख्यसचिवबाट अवकाश लीलामणी पौडेललाई चीनको राजदुत बनाइएको थियो । वर्तमान सरकारले पौडेललाई उच्चस्तरीय तलब सुविधा आयोगको संयोजक बनाएर काम लगाएको छ । त्यसअघिका मुख्यसचिव डा. भोजराज घिमिरे क्यानाडाको राजदूत भएर जानुभएको थियो ।

पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटाले अर्थ सचिवबाट अवकाश पाए लगतै प्रशासन सुधार आयोग हुँदै राष्ट्रिय सूचना आयोगमा नियुक्ति लिनुभयो । राष्ट्रपति रामचन्द्र पौडेलका सम्धी पूर्व सचिव युवराज भुषालले जागिरे जीवनबाट अवकाश पाए लगतै राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण सम्हाल्ने मौका पाउनुभयो । यस्ता अवसर पाउनेहरुमा बालानन्द पौडेल, लवदेव अवस्थि, शान्तराज सुवेदी, पुष्पराज कँडेल, माधव पौडेलसम्म हुनुहुन्छ ।

गभर्नरको जिम्मेवारी पाएका महाप्रसाद अधिकारी पनि नेपाल राष्ट्र बैंकका अधिकारी हुनुहुन्छ । एकातिर योग्यहरु बेरोजगार भएर भौतारिनु पर्ने र विदेश पलाउन हुनुपर्ने अवस्था रहेको तर राज्यले नै बिदाई गरेर पठाएका पूर्व प्रशासकहरुलाई छानी छानी अवसरको भारी बोकाइने प्रवृत्तिको आमरुपमा आलोचना हुने गरेको छ । अझ राज्यको दोहोरो सुविधालाई न्यायालयले नै बैध गरेपछि ढुकुटीमा दवाव पर्ने गरेको छ ।