१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


चार सय आरोही सगरमाथा शिखरमा


260
Shares

काठमाडौं । यसपटकको वसन्तकालीन आरोहण सुरु भएको एक साता नपुग्दै करिब ४०० जनाले सगरमाथा आरोहण गरेका छन्।

वसन्तकालीन आरोहण शनिबारदेखि सुरु भएको हो। पर्यटन विभागका कार्यकारी अधिकृत विज्ञान कोइरालाले शनिबारदेखि बुधबारसम्म ३०० आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिए।

उनका अनुसार बिहीबार थप १०० जनाले आरोहण गरेका छन्। कोइरालाले बुधबार एकैदिन १७५ भन्दा बढी आरोही सगरमाथाको शिखरमा पुगेको जानकारी दिँदै भने, ‘सन् २०१९ पछि एकैदिन सबैभन्दा बढी आरोही गत बुधबार सगरमाथाको शिखरमा पुगेका हुन्।’

यसपटक बाटो तयार हुन अलि समय लागेकाले धेरै आरोही आधार शिविरमा रोकिएका थिए। यसअघि सन् २०१९ को मे २३ मा एकैदिन ३५४ जनाले सगरमाथा आरोहण गरेका थिए।

गत शनिबार आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने काम सकेको जानकारी दिँदै कोइरालाले भने, ‘आरोहण खुला भएसँगै सयौं आरोही चुचुरोतर्फ लागिसकेका छन्। बिहीबारसम्म करिब ४०० आरोही सगरमाथा शिखरमा पुगिसकेका छन्। आरोहणको क्रम केही समयसम्म निरन्तर बढ्नेछ।’

यो समाचार अनजको नागरिक दैनिकमा प्रकाशित छ ।