Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३२९.५२ प्रतिशतले वृद्धि


845
Shares

काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा ३२९.५२ प्रतिशतको वृद्धि भएको छ।

यस त्रैमासकको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ४८ करोड रूपैयाँ रहेको छ। जुन अघिल्लो आवको सम्बन्धित त्रैमासकको अन्त्यसम्मको आधारमा ९.४० प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको सोही अवधिमा करिब १३१ अर्ब १६ करोड रूपैयाँ रहेको जीवन बीमा कोष १९.८३ प्रतिशतले बढी करिब १५७ अर्ब १६ करोड रूपैयाँ पुगेको छ। महाबिपत्ती कोषमा ८३ करोड रूपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा १५.४९ प्रतिशतले बढी हो। कम्पनीको लगानी २०.०७ प्रतिशतले बढेको छ। चैत मसान्तसम्म कम्पनीले १६२ अर्ब २८ करोड रूपैयाँ लगानी गरेको छ।

प्रकाशित विवरणअनुसार कम्पनीको भुक्तानी हुन बाँकी दाबी उलेख्य रूपमा घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा करिब १ अर्ब २८ करोड रूपैयाँ भुक्तानी हुन बाँकी दाबी बापत व्यवस्था गरिएकोमा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ३४.१९ प्रतिशतले घटी ८४ करोड रूपैयाँ रहेको छ।

यसैगरी चैत मसान्तसम्ममा २६ अर्ब ८३ करोड ७४ हजार रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने ११ अर्ब ८२ करोड रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११.४४ प्रतिशतले बढेको छ। यस त्रैमासमा आफ्नो दाबी भुक्तानी प्रक्रियालाई चुस्त–दुरुस्त, छिटो छरितो बनाइनु नै यस उपलब्धिको कारण रहेको कम्पनीले जनाएको छ।

८ अर्ब २० करोड रूपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७.२५ रूपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ ११६.०१ रूपैयाँ, मूल्य अनुपात आम्दानी ९३.१९ गुणा, प्रति शेयर कुल सम्पत्तिको मूल्य २,०९० रूपैयाँ र औसत प्रतिफल दर १०.८४ प्रतिशत रहेको छ।

देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई सबल पक्षको रुपमा लिएको कम्पनीले जनाएको छ।

आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रुपमा संचालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अवलम्बन गर्दै नेपालीहरूको घर दैलोमा गुणस्तरीय बीमा सेवा प्रवाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले जानकारी दिए।