
काठमाडौं । नेपालका ऐतिहासिक र सांस्कृतिक सम्पदा मात्र हैन, सरकारको स्वामित्वमा रहेको संग्रहालय समेत सुरक्षित रहेनन् । सिंहदरबारको मर्मतसँगै ऐतिहासिक बेलायती बैठक अस्तित्वहीन बनाइएको प्रकरण नसेलाउँदै स्वयम्भूस्थित प्राकृतिक संग्रहालयमा रहेका ऐतिहासिक वस्तुको उचित संरक्षण नहुँदा इतिहास नै संकटमा पर्ने अवस्था आएको छ । यससँगै पुर्खाको नासोबाट नयाँ पुस्ता पुरै बेखबर हुने अवस्था आउने निश्चित छ ।
संग्रहालयमा नेपालमा पाइने पशुपंछी, बनस्पति, दुर्लभ जीवजन्तुका अस्थिपंजरका नमूना संकलन रहेका छन् । यद्यपी संरक्षण अभावमा यहाँका सम्पदा नष्ट हुने अवस्थामा छन् । ऐतिहासिक पशुपन्छीका अवयव धुलो र खुला ठाउँमा राखिँदा तिनीहरुको आयु छोटिँदै गएको छ । लोपोन्मुख अवस्थामा रहेका संरक्षित वनस्पति, जीवजन्तु, जिवावशेष, चट्टान तथा खनिज पदार्थका नमूना सोकेश अभावका कारण जीर्ण बन्दै गएका छन् । स्थानको अभावले सबै राख्न समस्या परेको प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख डा.गणेशबहादुर थापा बताउनुहुन्छ ।
संग्रहालयको अर्को आकर्षण भनेको राजा महाराजाको श्रीपेचमा प्रयोग गरिएको कल्कीको । जुन प्वाँख यही चराको हो । पूर्व युवराज दीपेन्द्र शाहले शिकारका क्रममा ढालेको काकाकुल यही संग्रहालयलाई हस्तान्तरण गरिएको छ । जुन यो संग्रहालयको अर्को महत्वपूर्ण संग्रह मानिन्छ ।
यी बाहेक राजपरिवारका सदस्यले शिकार गरेका थुप्रै जीवजन्तुका अवशेष यस संग्रहालयमा राखिएका छन् । नेपालमा बिरलै पाइने राजहाँस सुरक्षित स्थानको अभावमा बिग्रने अवस्थामा पुगेको छ ।
संग्रहालयमा संरक्षित राम गाई र पुड्के बंदेल नेपालको भूगोलबाट लोप भइसकेका छन् । यी बाहेक तस्करहरुको आँखा पर्ने बहुमुल्य जनावरको नमुना पनि यस संग्रहालयमा रहेका छन् । रोचक के छ भने यही संग्रहालयमा रहेका नमुना हेरी चोरी शिकारी रोक्ने काम समेत हुँदो रहेछ ।
नेपालमा पाइने ७५ प्रकारका बिषालु, सामान्य सर्प र तिनका अस्थीपंजर संरक्षित छन् । प्र्रदर्शनका लागि स्थान अभावका कारण जबर्जस्ती कोचिएर राखिएको छ ।
४८ वर्षअघि सरकारी स्वामित्वमा खुलेको प्राकृतिक विज्ञान संग्रहालय प्राकृतिक विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान, प्राप्त अनुसन्धानात्मक नतिजा आमजनता समक्ष पुर्याउने उद्देश्यले स्थापना गरिएको हो ।
यहाँका अवशेष नयाँ पुस्ताका लागि विश्वविद्यालय त हुँदै हो, त्यसमाथि इतिहासको जीवित अवशेषको सुरक्षामा कुनै सम्झौता नगरी तदारुकतासाथ पूर्वाधार बनाइनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्