
काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको दाबी गरेका छन् ।
बिम्स्टेक सम्मेलनबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिनेक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा भइरहेका संयुक्त अभ्यासबाहेक कुनै सैन्य अभ्यासको सम्झौता नभएको बताए ।
आतंकवाद नियन्त्रणका लागि अनुभव आदानप्रदान गर्ने गरी यसअघि विभिन्न देशसँग भइरहेका संयुक्त सैन्य अभ्यासभन्दा फरकखालको सैन्य अभ्यासको सम्झौता नभएको उनको भनाइ थियो ।
सांसदहरु डा. मीनेन्द्र रिजाल, दिव्यमणी राजभण्डारी, अमरेशकुमार सिंहलगायतका एक दर्जन सांसदहरुले बिम्स्टेक सदस्य राष्ट्रहरुबीच भारतको पुनेमा हुने भनिएको सैन्य अभ्यासबारे प्रश्न गरेका थिए ।
यस्तै, सांसदहरुले बिम्स्टेक सम्मेलनमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सैनिक लिएर आएको विषयमा प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले आफ्नो गच्छेअनुसार विदेश भ्रमण गएका बेला नेपालले पनि सेना लैजाने गरेको भन्दै स्वाभाविक विषयलाई अनावश्यकरुपमा नउचाल्न आग्रह गरे ।
सांसदहरुले सभागृहमा सम्मेलन नगरेर किन होटलमा गरेको ? भन्ने प्रश्नसमेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले विभिन्न अनुकूलता हेरेर सभागृहमा सम्मेलन नगरिएको जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस्