Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


भारतमा सिख पृथकतावादीको खोज जारी, अठहत्तर जना पक्राउ


494
Shares

एजेन्सी । भारतमा सिख मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुुसको नेतृत्व गरेका एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ ।

मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् तर छुट्टै राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् ।

गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो ।

पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् ।

सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् । विशेष गरी अशान्त उत्तरी क्षेत्र काश्मिरमा बारम्बार इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ ।