काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । च्यासल मैदानमा आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले बनाएको थियो । खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको २४ औं मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । जितसँगै आर्मीले ५ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीसँग १–१ गोलको बराबरी खेलेका छन् । लिगमा पुलिसले पहिलो अंक जोडेको हो । यसअघि पुलिसले लगातार चार खेलमा हार व्यहोरेको थियो । पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ । एनआरटी ५ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।






प्रतिक्रिया दिनुहोस्