बारा । महागढीमाई नगरपालिकाको कबही मधुरीनिवासी ७० वर्षीय इमाम मियाँ बुधबार कलैया प्रदेशिक अस्पतालमा स्वास्थ्योपचारका लागि बिहान १०ः३० बजेदेखि पुर्जा लिन लाइनमा बसेका थिए, तर १ः३० बजेसम्म पनि पुर्जा लिन पाएनन्। बेलाबेलामा टाउको दुख्ने समस्याका कारण उपचार गर्न उनी कलैया अस्पताल आएका थिए। काउन्टरले पुर्जा काट्न बन्द गरेपछि उनी निराश भएका थिए ।
मियाँ त एउटा उदाहरण मात्रै हुन् । कलैया अस्पतालमा आउने धेरै बिरामीले उपचार नै नपाएर घर फर्कनुपर्ने अवस्था छ । कलैया अस्पतालमा आवश्यकताअनुसार डाक्टरहरूको व्यवस्था नहुनु र बिरामी पहिलाभन्दा धेरै बढ्दा सबै बिरामीको उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरूले बताएका छन् । उपचार करार डाक्टरहरूका भरमा हुँदै आइएको छ ।
कलैया प्रादेशिक अस्पतालमा निमित्त सुपरिटेन्डेन्ट डा. सुनिल जैसवालले ६ जना विशेषज्ञ डाक्टर र चारजना मेडिकल अधिकृत गरी १० जनाको दरबन्दी रहेकोमा म मात्रै दरबन्दीअनुसारको डाक्टर रहेको बताए । दरबन्दीअनुसार डाक्टर नभएपछि करारमा डाक्टरहरू राखेर सेवा दिनुपरेको उनले गुनासो गरे ।
बिरामीको चाप दिनदिनै बढ्दै गए पनि कायम रहेको दरबन्दीमा डाक्टरहरू नपठाइएको कारणले मधेस प्रदेश सरकार र कलैया अस्पतालले करारमा डाक्टरहरू राखेर सेवा दिने कार्य गरेको उनले बताए ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्