
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू–१९ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
साफले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत २०२३ को प्रतियोगिता, मिति र स्थान सार्वजनिक गरेको हो ।
जस अनुसार नेपालमा आयोजना हुने यू–१९ च्याम्पियनसिप २०२३ को जुलाई ७ देखि १७ सम्म सञ्चालन हुने छ । नेपालले यसअघि सन् २०१५ मा घरेलु भूमिमा भएको यो प्रतियोगिताको उपाधि जितेको थियो । यस्तै, २०१९ मा यो प्रतियोगिता साफ यू–१८ च्याम्पियनसिपको नाममा आयोजना हुँदा नेपालले नै अवसर पाएको थियो । त्यतिबेला फाइनलमा नै पुग्न नसकेको नेपालले सन् २०१५ मा भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिप जितेको थियो ।
यो वर्ष आयोजना हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, भारत, माल्दिभ्स र पाकिस्तान सहभागी हुने छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले श्रीलंकामाथि प्रतिबन्ध लगाएका कारण त्यो प्रतिबन्ध नहटेसम्म उसले साफका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैन ।
प्रतियोगितामा साफ यू– १७ वुमन्स् च्याम्पियनसिप २०२३ बंगलादेशमा आयोजना हुनेछ । यो प्रतियोगिता मार्च २० देखि २८ सम्म चल्ने छ । साफ च्याम्पियनसिप २०२३ भारतमा हुनेछ । यसको मिति भने टुङ्गो लागेको छैन । साफ यू–१६ च्याम्पियनसिप २०२३ भने १ देखि ११ सेप्टेम्बरमा भुटानमा आयोजना हुने छ ।
प्रतिक्रिया दिनुहोस्