
काठमाडौं । नेपाल राष्ट्र बैंकले भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने जानकारी गराएको हो ।
राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने छ । तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ/ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख छ ।
यस्तै, सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ ।
शुक्रबार जारी निर्देशन अनुसार अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।
यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ । यस बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
प्रतिक्रिया दिनुहोस्