१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


‘स्पट फिक्सिङ’ : अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, १२ जनालाई मुद्दा चलाउन सिफारिस


65
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई महिनाअघिको नेपाल टी–२० क्रिकेट लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार १२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित आफ्नो प्रतिवेदन बुझाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरूमाथि स्वाभाविक नतिजालाई फेरबदल गर्न मद्दत गरेको, फिक्सिङमा मिलेमतो गरेको र गर्न दुरुत्साहन गरेको आरोप लगाइएको छ । दुई खेलाडीमाथि भने नतिजा फेर बदरमा मद्दत गरेको आरोप छ ।

प्रहरीका अनुसार व्यवस्थापकीय भूमिकामा रहेका, खेलाडीको सम्पर्कमा आएका र खेलमा सहभागी खेलाडी फिक्सिङमा संलग्न रहेको पाइएको छ । यसअघि प्रहरीले पूर्वक्रिकेटर महबुब आलम, क्रिकेटर मोहमद आदिल आलम र नितेश गुप्तालाई पक्राउ गरिसकेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पुस ९ देखि २७ गतेसम्म नेपाल टी–२० लिग भएको थियो । नेपाल क्रिकेट सङ्घको आयोजना तथा भारतको सेभेन थ्री स्पोर्ट्स प्रालिको रणनीतिक तथा व्यावसायिक साझेदारीमा खेल खेलाइएको थियो । मुख्यतः लिगको प्रतिस्पर्धामा आउने परिणामलाई प्रतिकूल हुने गरी बाजी जिताउने वा हराउने उद्देश्यले खेलको मिलेमतो गरेको पाइएकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अन्तर्गतको कसुरमा तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबानाको माग गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार सुरुमा राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहेका महबुब आलमले दुई नेपाली खेलाडीलाई प्रलोभन देखाई ‘स्पट फिक्सिङ’ को प्रयास गरेका थिए । केही फ्रेन्चाइज टिमको आर्थिक स्रोत र खेलाडीको पारिश्रमिकको स्रोत पनि खुलेको नपाइएको जनाएको छ ।