१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पाँच वर्षमा पश्मिनाको निर्यात ७ करोड अमेरिकी डलर पुर्‍याउने लक्ष्य


91
Shares

काठमाडौं । सरकारले सन् २०२६ सम्म पश्मिनाको निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित ‘पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति’ सार्वजनिक गरेको छ ।

मंगलबार ललितपुरमा भएको एक कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो ।

निजी क्षेत्रको आपूर्ति क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पश्मिनाको निर्यात बढाउन र पश्मिनाको उत्पादनलाई विश्व बजारमा पुर्‍याउने उद्देश्य सरकारको रहेको छ । रणनीति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टिइपिसी) तथा नेपाल पश्मिना उद्योग संघ (एनपिआइए) सँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ ।

उद्योगमन्त्री भण्डारीले योजनाले पश्मिना उद्योगको विकास र बिस्तारमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले नेपालमा पहिलो पटक नेपाली च्याङ्ग्राको उनलाई प्रशोधन गरी पश्मिनाको धागो उत्पादन गर्ने कारखाना बन्न लागेको भन्दै नेपाली च्याङ्ग्राको उनले उचित मूल्य पाउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले नेपालभित्र पश्मिनाको धागो उत्पादन गरी पश्मिनाजन्य वस्तुको उत्पादन र गुुणस्तर बढ्ने बताउनुभयो ।

नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले अहिले नेपालमा पूर्णरुपमा पश्मिनाको धागो विदेशबाट आयात हुने भन्दै अब नेपालमा नै च्याङ्ग्राको उन प्रशोधन गरेर पश्मिनाको धागो नेपालमा नै बन्नु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले आफ्नो प्रशोधन कारखाना राखेर, आफ्नै कच्चा पदार्थ उद्योगमा प्रयोग गर्दा किसानले राम्रो मूल्य पाउने दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समय पश्मिनाका उत्पादनको माग सय टन बढीको रहेको बताउनुभयो । उहाँले नेपालले अन्तर्राष्ट्रिय बजारको १.५ प्रतिशत र नेपालको मात्रै २.७ प्रतिशत पशिमनाको निर्यात गरिरहेको बताउनुभयो । उहाँले नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भएपनि अहिले २० देखि २५ लाख पिस मात्रै उत्पादन भइरहेको बताउनुभयो ।

मंगलवार नै पश्मिना प्रशोधनको लागि पश्मिना फाइवर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास भएको छ ।