
मीरा बस्नेत/राममान डंगोल (इमेज)
काठमाडौं, भदौ १२ । यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ बालसाहित्य सर्जक शान्तदास मानन्धरलाई प्रदान गरिने भएको छ ।
उमेरले ८५ वर्ष पुगेका साहित्यकार मानन्धर अहिले पनि युवा जोश र जाँगरका साथ बालसाहित्य सिर्जनामा लागिरहेका छन् ।
विक्रम संवत् १९९१ मा काठमाडौंको झोछेंमा जन्मिएका मानन्धर २०२२ सालमा बालसाहित्य लेखन र प्रकाशनमा लागिसकेका थिए ।
उनका बालसाहित्य, बालकोसेली, शिक्षा र शिक्षा क्षेत्र, शिक्षक साथीहरुसितलगायतका थुप्रै पुस्तकहरु प्रकाशन भइसकेका छन् ।
मदन पुरस्कार गुठीले सोमबार मानन्धरलाई जगदम्बाश्री र नीलम कार्की निहारिकालाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुन पाउँछु भन्ने आफूले कल्पनासमेत नगरेको मानन्धरले बताए ।
साहित्य क्षेत्रमा कलम चलाउनेहरु थुप्रै हुने र कतिले गरेका कामहरु यत्तिकै हराएर जाने गरेको भन्दै उनले मदन पुरस्कार गुठीले आफ्नो कामको मूल्यांकन गरेको सुन्न पाउँदा हर्ष र आश्चर्य लागेको बताए ।
नेपाली साहित्यजगतमा बालसाहित्यले खासै स्थान पाउन सकेको छैन । यस क्षेत्रको अहिलेसम्म कतै पनि चर्चा नभएको बताउँदै यस पुरस्कारबाट आफू सम्मानित हुनु भनेको बालसाहित्यको क्षेत्रमा लाग्नेहरुलाई पनि हौसला हुने उनको धारणा रहेको छ ।
दुई लाख रुपैयाँ राशिको जगदम्बाश्री पुरस्कारलाई पनि बालसाहित्यकै क्षेत्रमा लगाउने बताउने मानन्धर यसअघि महाकवि देवकोटा पुरस्कार, देवकोटा लु सुन पुरस्कार, कविताराम पुरस्कारलगायतबाट सम्मानित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्