२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


महिला साफ यू-२० तयारी, स्वाभाविक खेलबाट उपाधिको अपेक्षा


91
Shares

काठमाडौं । बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । अर्को महिना फेब्रुअरी ३ तारिखदेखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिष्पर्धा गर्दै छन् । उपविजेता भन्दामाथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ ।

दक्षिण एशियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यू-२० को चौथो संस्करण बंगलादेशको ढाकामा आयोजना हुँदै छ । फेब्रुअरी पहिलो साताबाट आयोजना हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदै छन् । सोही प्रतियोगिताका लागि सबै देशले तयारीलाई तिब्रता दिइरहँदा नेपाली टोलीले पनि तयारीलाई तिब्र बनाएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा नेपाली टोली दिनहुँ ३/४ घण्टा अभ्यासमा व्यस्त रहँदै आएको छ । अघिल्ला संस्करण साफ यू-१८, साफ यू-१९ नाममाबाट आयोजना हुँदै आएको यो प्रतियोगिता अहिल भने यू-२० बाट हुँदै छ ।

अघिल्लो इतिहास हेर्दा उपविजेता भन्दा माथि उक्लिन नसकेको नेपाली महिला टोली ढाकामा आयोजना हुने चौथो संस्करणमा च्याम्पियन बन्ने लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताए । तीन साता अघिबाट अभ्यासमा जुटेको नेपाली टोलीले कठिन अभ्यससँगै केही मैत्रिपूर्ण खेलबाट अभ्यास बटुलेको छ । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले तीन साताको अभ्यासबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आएको बताए । यसअघि पनि सहभागिता जनाउँदै आएको नेपालले यस संस्करणमा बलियो भारतसहित बंगलादेश र भुटानविरुद्ध राम्रो खेल खेल्ने अपेक्षा राखेको छ ।

शुरुवाती १५ दिनमा प्राविधिक विषयमा गृहकार्य गरेपछि उल्लेख्य सुधार आएको भन्दै मुख्य प्रशिक्षक गुरुङले अहिले खेल शैलीको बारेमा अभ्यास गराइरहेको बताए । प्रतियोगिता खेल्नका लागि खेल शैलीमा परिवर्तन गर्न चाहे पनि छोटो अवधि भएकाले पुरानै शैलीलाई नै निरन्तरता दिने प्रशिक्षका गुरुङले जानकारी दिए ।

नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रिति राईले पनि प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको भन्दै राम्रो गर्नेमा आफू आशावादी भएको बताइन् । प्राविधिक र मानसिक हिसाब दुवै पक्षमा केन्द्रित रहेर अभ्यास गरिरहेकोले ढाकामा हुने प्रतियोगितामा राम्रो नतिजा निकाल्ने पक्षमा रहेको बताइन् । प्रतिष्पर्धी टोली भारत र बंगलादेशमा अनुभवि र यु–१७ विश्वकप खेलेका खेलाडी भएपनि नेपाली टोलीले स्वभाविक खेलबाट सुखद् नतिजाको लक्ष्य राखेर तयारी गरेको खेलाडी प्रितिले बताइन् ।

कुनै समय दक्षिण एशियामा बलियो टोली गनिने नेपाली टोलीले अन्य दक्षिण एशियाली टोलीको तुलनामा अघि बढ्न नसकेको केही पछिल्ला प्रतियोगिताका नतिजाबाट प्रस्ट छ । सँगै एन्फाले योजनाअनुरुप प्रतियोगिता सञ्चालन गर्न नसक्दा खेलाडीले अनुभव लिने मौकाबाट टाढिरहेका छन् । प्रतियोगिता आयोजना हुने निश्चिततासँगै अभ्यास थालनी गर्ने प्रचलन पुरानै हो । जसका कारण नतिजा टाढिरहेको अवस्थामा प्रशिक्षक यामप्रसाद गुरुङले नेतृत्व तहबाट नै महिला टोलीको खेल स्तर सुधार गर्न ठोस कार्यक्रम नभएको बताए ।

नेपालले लगातार चौथो पटक सहभागिता जनाउन लागेको प्रतियोगिता फेब्रुअरी ३ देखि ९ तारिखसम्म आयोजना हुँदै छ र तालिका पनि सार्वजनिक भइसकेको छ । सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल बंगलादेशसँग फेब्रुअरी ३ मा खेल्दै प्रतियोगिताको शुरुवात गर्ने छ भने सोही दिन भारत र भुटानबीच पनि खेल हुने छ । त्यसको दुई दिनपछि फेब्रुअरी ५ मा नेपालले भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिगको अन्तिम खेल खेल्ने छ । सिंगल राउण्ड रोबिन प्रणालिमा आयोजना हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् ।