काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० लिगमा पछिल्लो समय देखिएको विवाद र घटनाक्रमबारे बुझ्न आएको आईसिसी प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेको छ ।
आईसीसीको टोलीले बिहीबार राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेको हो ।
यसअघि टोलीले विमानस्थलबाट सिधै कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा निरीक्षण गरेको थियो । त्यसपछि सहभागी टोलीका प्रतिनिधिसँग भेट गर्दै आवश्यक जानकारी लिएको थियो । प्रतियोगिताको एन्टी करप्सन युनिट (एसयू), अम्पायर र खेलाडीसँग भेट गरेको थियो ।
यस्तै, टोलीले क्रिकेट प्रतियोगिताबारे छानबिन गरेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)सँग पनि भेटघाट नगरेको क्यानले जानकारी दिएको छ । जारी प्रतियोगितामा खेल मिलेमतो र स्पट फिक्सिङको गतिविधि भएको चर्चा सञ्चारमाध्ययमा आएपछि आईसिसीले दुई सदस्यीय टोलीलाई नेपाल पठाएको थियो ।
विवाद सतहमा आएपछि राखेपले बुधबार सत्य तथ्य छानबिन गरी १५ दिनभित्र परिषद् समक्ष प्रतिवेदन बुझाउन परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरेको थियो । छानबिन समिति बनाएको जानकारी गराएपछि आईसिसी प्रनिनिधि सहयोग गर्न तयार रहेको राखेपले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्