Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिन्न : मन्त्री साह


117
Shares

कलैया । बिना विभागियमन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य गरिनुपर्नेमा जोड दिनुभएको छ । बेथितिलाई सुधार गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा प्राप्त गर्नसक्नेमा उहाँले जोड दिनुभयो ।

रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५ औँ सभालाई आज सम्बोधन गर्दै उहाँले जिल्लाकै जेठो यस क्याम्पसले शिक्षाको क्षेत्रमा चाहे जति फड्को मार्न नसकेको हुँदा यहाँका विद्यार्थी अन्यत्र जिल्लामा गई पठनपाठन गर्न बाध्य भएको बताउनुभयो ।

मधेस प्रदेशमा शिक्षाको स्तर खस्किँदै गएको उल्लेख गर्दै उहाँले सुधार गर्न शिक्षा क्षेत्रका सबै सरोकारवालाको भूमिकालाई अझै प्रभावकारी बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । तराई मधेसका जिल्लामा शिक्षकले समयमा विद्यालय नआउनु, जति बेला मन लाग्यो उति बेला नै हिँडिदिने, बढी बिदा लिने, मन लगाएर विद्यार्थीलाई नपढाउने जस्ता विकृतिका कारणले पनि शिक्षा क्षेत्रमा बेथिति आएको मन्त्री साहको भनाइ छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले क्याम्पसको सहयोगका लागि आफू पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेकपा (एमाले)का सचिव अध्यानन्द पाण्डेय, क्याम्पस प्रमुख रविभूषण कुसवाहा, सञ्चालक समितिका उपाअध्यक्ष जङ्गबहादुर चौरसिया, प्रध्यापक अमित मिश्र लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।