
म्याग्दी । अधिकांश नेपाली युवाहरू अमेरिका जानका लागि मरिहत्ते गर्ने गर्छन् ।
युवाहरूको पहिलो रोजाइको देश अमेरिका हुन्छ । साेही देशमा जानका लागि उनीहरू आफ्नाे भएको घरजग्गा धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आय आर्जनका सम्भावनाहरुलाई लत्याएर अमेरिकाको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्डु घिउसँग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्वर दिनहरु खेर फालिरहेका हुन्छन् ।
तर म्याग्दीको बेनी नगरपालिका-७ कुरिलाखर्कका युवा सुरेश ढुंगानाले गाउँमा नै संचालन गरेको भैंसी पालन र कुखुरा पालन उद्यमबाट युरोप र अमेरिकामा श्रम गर्दा कमाइने भन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । १० वर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय ढुंगानाले ९ वर्ष अगाडि ढुङ्गाना कृषि तथा पशुपंक्षी फर्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभयो । त्यही फर्ममा अहिले २२ वटा मुर्रा जातका भैंँसी र दुई वटा जर्सी गाई दुहुना समेत रहेका छन् ।

ति भैंसी र गाईबाट दैनिक १ सय ५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्ने गरेको ढुंगाना बताउनुहुन्छ । दुई वटा भैंसीबाट सुरु गरेको व्यवसायबाट अहिले ढुंगानालाई मासिक ५ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । सबै खर्च कटाएर मासिक करिब २ लाखको हाराहारीमा बचत हुने उहाँको भनाइ रहेको छ । फर्ममा अहिले ५० लाख रुपियाँ जति लगानी भइसकेको उहाँले बताउनुभयो । भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो जमिन भाडामा लिनुभएको छ ।
उहाँले भन्नुभयाे,-‘बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध नपुर्याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरी डेरी उद्योगमा दैनिक १ सय ५० लिटर दूध पुर्याएपछि बल्ल शरीरमा फुर्ति आउँछ ।’
प्रतिलिटर ९० रूपैयाँमा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो
प्रतिक्रिया दिनुहोस्