Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


बिम्स्टेक सम्मेलनका लागि चिटिक्क पारिँदै काठमाडौं (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी/मीरा बस्नेत/भरत केसी (इमेज)

काठमाडौं, भदौ ६ । जब–जब देशमा विशेष समारोहका लागि विदेशी पाहुना भित्रिने दिन नजिकिन्छ, तब–तब सडक निर्माणदेखि सरसफाइमा सरकारले सारा शक्ति लगाउँछ ।

हिउँदको समय । जतिबेला सडक कालोपत्र गर्दा दीगो पनि हुन्थ्यो ।

करकारुपमा जनतालाई निचोरेर जम्मा पारेको राज्यको ढुकुटी मध्य वर्षाको भेलमा खर्चंदा सरकारका प्रधानमन्त्री, मन्त्रीदेखि राज्य संयन्त्रमा रहेका कसैको पनि मन दुख्दैन ।

हिउँदभर अनेक बहानामा समय कटाउने, जब वर्षात् सुरु हुन्छ अनि कहिले विकास बजेट सकाउने नाममा त कहिले विदेशी पाहुनालाई देखाउने नाममा स्वाहा बनाइन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण भएको समयमा बनाइएको सडक कालोपत्रको अहिले नामोनिसान छैन ।

अनि, आर्थिक वर्षको अन्त्यमा विकासको प्रतिशत बढी देखाउन खन्याइएको रकमले गरिएका कथित विकासको रुप काठमाडौंको सडकलाई हेरे पुग्छ ।

अहिले फेरि बिम्स्टेकमा विदेशी पाहुना आउने भएपछि उनीहरुलाई देखाउनकै लागि सरकार भदौको भेलमा सडकमा पैसा बिछ्याउँदैछ ।

सडक कालोपत्रदेखि रङरोगनका काम सकाउन भ्याइ–नभ्याइ छ । वर्षे भेलमा गरिने कालोपत्र हुन् वा रङरोगन । सर्वत्र हिलो, धुलो र धुवाँको बीचमा गरिने यस्ता विकास संरचनाको आयु महिना पनि नकट्नेमा सबै भलिभाँती जानकार छन् ।

तैपनि, धुलो, धुवाँ र हिलोलाई नियति मान्नुपर्ने नेपालीले केही दिन भएपनि यस्ता दृष्य देख्न पाउनेछन् ।

यसअघि, सार्क सम्मेलनका बेला बनाइएका केही संरचनामध्ये सडक आसपासका बिरुवा वर्षाकै समयमा भएपनि अहिले हरियाली छर्दैछन् । तर, बिरुवा वरपर उमे्रका घाँस उखल्न कसैको ध्यान गएको छैन ।

विकास र समृद्धिको महान् यात्रामा निस्केको सरकारको समयमा पनि विकासको रुप भने बजेट सकाउने शैलीमा केन्द्रित हुनुचाहिँ विडम्बनापूर्ण छ ।

झन् बेमौसमका कामले ट्राफिक समस्यालगायतका सास्तीमात्रै थपिदिएको सर्वसाधारणको गुनासो छ ।

भिडियो हेर्नुहोस्