Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


कालिमाटी तरकारी बजार खुला


0
Shares

काठमाडौं, भदौ ६ । अनुगमनकाक्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालिमाटी तरकारी बजार बुधबारदेखि खुलेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुर्व्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।

व्यापारी विष्णु कँडेलकाअनुसार व्यापारी र सरकारी अनुगमन टोलीबीच गत सोमबार विवाद भएपछि बन्द बजार बुधबारदेखि खुलेको हो । तर पनि पहिलेको जति चहलपहल भने हुन सकेको छैन ।

यसअघि, दैनिक साढे ५०० टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । बुधबार भने करिब ४०० टनमात्र आएको व्यापारी कँडेलले बताए ।

पछिल्लो समय सरकारले बजार अनुगमन दैनिकरुपमा नै गर्दै आएको छ ।

अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो ।

किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेको अनुगमनकाक्रममा पाइएको थियो ।

अनुगमन टोलीलाई विरोध गर्न मुख्य भूमिका खेलेको भन्दै फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो ।

सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मंगलबार अबेरमात्र आन्दोलन फिर्ता लिएका थिए ।

अनुगमन जानकारीबिना नै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारबाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीयसचिव सन्तोष विष्टले जानकारी दिए । रासस