Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


बोल्टको म्यानचेस्टर युनाइटेड सपना साकार होला ?


0
Shares

गसफोर्ड (अस्ट्रेलिया), भदौ ५ । विश्वकै सर्वाधिक तीव्रगतिका धावक उसैन बोल्टको म्यानचेस्टर युनाइटेडबाट फुटबल खेल्ने सपना पूरा होलाजस्तो छ !

यी प्रतिभाशाली धावक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्लबमा आबद्ध भइ पहिलोपटक तालिममा सहभागी भएका छन् ।

हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् ।

अस्ट्रेलियाको ए–लिगमा रहेको म्यारिनर्स टिमले बोल्टलाई अनुबन्ध गरेको छ ।

उनको बल नियन्त्रण कला राम्रै देखियो र उनले देब्रे खुट्टा बढी चलाएको पाइयो ।

‘यो एथ्लेटिक्सको ट्राक एन्ड फिल्डजस्तै हो । पहिलो दिनको तालिम जोसुकैलाई कडा नै हुने गर्दछ । कति मिहिनेत गर्नुपर्ला भन्ने त विस्तारै थाहा हुन्छ । थाहा छ । मलाई ठीकै लाग्यो’–४५ मिनेटको अभ्यासपछि बोल्टले भने ।

मंगलबारमात्र ३२औं जन्मदिन मनाएका यी सुपरस्टार एथ्लेटिक्स खेलाडीलाई म्यारिनर्सले अवसर दिएको थियो ।

बोल्टले यसअघि गत वर्ष नै जर्मनी, नर्वे र दक्षिण अफ्रिकी टिममा रहेर फुटबल खेल्ने अभिरुचि देखाएका थिए र सम्भव भएको थिएन ।

अक्टोबरको अन्त्यतिर सुरु हुने २०१८–१९ को सिजनमा ए–लिगको एक खेलाडीकारुपमा बोल्टले सहभागिता जनाउनेछन् । उनी आफूले चाहँदासम्म क्लबमै रहन सक्नेछन् ।

सिड्नीबाट ७५ किलोमिटर उत्तरमा रहेको गोस्फोर्ड सहरसम्म ७० भन्दा बढी पत्रकारहरुको टोली बोल्टको तालिम र नयाँ जीवनको रिपोर्टिङ गर्न पुगेको थियो ।

८ पटकका ओलम्पिक च्याम्पियन र पृथ्वीकै सबैभन्दा तीव्रगतिका धावक बोल्टले आफूले केही नौलो गरेर देखाउने बताए ।

उनले भने–‘ममाथि शंका गर्नेलाई गलत प्रमाणित गरिदिन्छु । मैले अहिल्यै कुनै लक्ष्य तोकेको छैन र मेरो ध्यान केबल फुटबलमा छ ।’

बोल्टले सन् २००८ को बेइजिङ ओलम्पिकमा पहिलोपटक दुईओटा स्वर्णपदक जितेका थिए । त्यसपछि उनले ६ ओटा ओलम्पिक स्वर्णपदक जिते र ११ ओटा अन्तर्राष्ट्रिय उपाधि जिते ।

त्यसपछि एथ्लेटिक्सबाट सन्यास लिए र फुटबल खेल्ने इच्छा देखाए ।

उनको फुटबलप्रतिको मोह स्कुल पढ्दादेखिकै हो र त्यतिखेर उनी गोलरक्षक हुन्थे । पछि उनी स्ट्राइकरको भूमिकामा पनि देखिन थाले । म्यारिनर्समा पनि उनी अगाडिको पंक्तिबाटै खेल्न चाहन्छन् ।

बिजुली चम्केझैं दौडिनसक्ने बोल्टलाई प्रशिक्षकले मैदानको कुन क्षेत्रबाट खेलाउने हुन् त्यो भने उनलाई पनि थाहा छैन ।

‘मलाई त मैदानको दायाँबायाँ ठीक लाग्छ’–प्रशिक्षक माइक मल्भीसँगै रहेका बोल्टले भने ।

प्रशिक्षक मल्भीले बोल्ट केही आत्तिएको बताउँदै भने–‘यो त उनको पहिलो दिन हो । उनी विश्वकै राम्रा एथ्लेटिक्स खेलाडी हुन् र उनी यहाँ आउँदा हामी औधी खुसी छौं ।’

‘सबैको चाहना राम्रो फुटबल खेलाडी हुने र ओल्ड ट्राफोर्ड (म्यानचेस्टर युनाइटेड) मा खेल्ने हुन्छ । मैले पनि ठूलै कुरा प्राप्त गर्ने सपना बुनिरहेको हुन्छु’–उनले भने–‘मेरो एउटा सबैभन्दा ठूलो सपना नै म्यानचेस्टर युनाइटेडबाट खेल्नु हो । चाहे त्यो पाँच होस् वा एक खेल । किनभने, म म्यान्यूको ठूलो फ्यान हुँ ।’ रासस/एएफपी