Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


पानी ट्यांकरमा थोपरिएको पटके कर फिर्ता नगरे आन्दोलन थाल्ने चेतावनी


0
Shares

काठमाडौं, भदौ ४ । पानी उत्पादक तथा वितरक संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका स्थानीय तहहरुले पानी ट्यांकरहरुमा ठेकेदारीमार्फत् अव्यावहारिक तरिकारले पटके कर उठाएको भन्दै उक्त कर तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

सोमबार राजधानीमा संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो ।

खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष एवं संघर्ष समितिका संयोजक उज्वल शाक्यले स्थानीय सरकारले मनोमानी ढंगले पानी ट्यांकरमा पटके कर लगाएको भन्दै विरोध जनाए ।

सरकारले जनताको हितमा काम गर्नुको साटो उल्टै दोहोरो कर लगाएर जनताको दैनिकीमा असहजता सिर्जना गर्ने काम गरेको भन्दै यो आफूहरुलाई मान्य नहुने शाक्यले उल्लेख गरे ।

प्रत्येक पानी ट्यांकरमा बाटोमा अवैधानिकरुपमा प्रतिटिप शुल्क लिने काम बन्द गर्नुपर्ने र दोहोरो कर हटाइनुपर्ने आफूहरुको दुईशूत्रीय माग रहेको उनले बताए ।

यसैगरी, उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालले सोमबारदेखि गोकर्णेश्वर नगरपालिकामा प्रत्येक टिप शुल्क लगाउन थालेको भन्दै आफूहरु यसकाविरुद्ध आन्दोलित भएको बताए ।

सरकारले जनतालाई निःशुल्क पानी दिनुपर्नेमा उल्टै चर्को कर लगाइ जनपक्षीय बन्न नसकेको पुष्टि भएको व्यवसायीको आरोप छ ।