जकार्ता, भदौ ४ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् पाराग्लाइडिङको पुरुष व्यक्तिगत एक्युरेसीको पहिलो दुई चरणका खेल सकिँदा नेपालका विजय गौतम तेस्रो स्थानमा छन् ।
पहिलो स्थानमा इन्डोनेसियाका मेगावान्तो जाफ्रो छन् भने दोस्रो स्थानमा थाइल्यान्डका विटेहाम जिरासाक छन् ।
यो प्रतिस्पर्धाको तेस्रो राउन्ड केही खेलाडीले सकेपनि नेपालका गौतमले खेल्न बाँकी छ ।
६ राउन्डसम्म चल्ने यो प्रतिस्पर्धा बुधबार सकिनेछ । यो इभेन्टमा २९ खेलाडीले भाग लिएका छन् ।
अर्का नेपाली खेलाडी सुशील गुरुङ भने २५औं स्थानमा छन् ।
एक्युरेसीको महिला टिम इभेन्टको दोस्रो चरण समाप्तीमा नेपाल चौथो स्थानमा छ ।
इन्डोनेसिया पहिलो स्थानमा छ भने दक्षिण कोरिया दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छन् । यो इभेन्टमा ९ राष्ट्र सहभागी छन् ।
पुरुष टिम इभेन्टको दुई चरण सकिँदा नेपाल आठौं स्थानमा छ ।
यो स्पर्धा पनि इन्डोनेसिया पहिलो स्थानमा छ भने थाइल्यान्ड दोस्रो र चीन तेस्रो स्थानमा छन् । यो इभेन्टमा १५ देशबीच प्रतिस्पर्धा भइरहेको छ ।
नेपालले पाराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा पनि प्रतिस्पर्धा गर्न बाँकी छ ।








प्रतिक्रिया दिनुहोस्