Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


जीविकोपार्जनका लागि फोहर संकलन (भिडियो रिपोर्ट)


0
Shares

लक्ष्मी लामा/भरत केसी/उत्तम मानन्धर (इमेज)

काठमाडौं, भदौ ४ । सहरी क्षेत्रमा बढ्दो जनसंख्याको चाप र उपभोगको प्रवृत्तिका कारण फोहोर उत्पादन पनि त्यही गतिमा बढिरहेको छ । उपत्यकामा दैनिक सयौं टन फोहोर जम्मा हुने गर्दछ ।

तर, घरघरबाट निस्कने त्यही फोहोर भने कतिपय मानिसहरुका लागि जीविकोपार्जनको माध्यम बनेको छ ।

घरहरुबाट निस्कने फोहोरबाहेक अस्पतालबाट निस्कने र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक फोहोरको उत्पादन पनि त्यत्तिकै बढिरहेको छ । महानगरपालिका र निजी कम्पनीहरुले यस्ता फोहोरहरु दैनिक उठाउने गर्दछन् ।

प्लास्टिकका झोला, प्याकेजिङ प्लास्टिक तथा टिनका बट्टालगायतका फोहोरहरु डम्पिङ साइटमा पुगेर ‘रिसाइक्लिङ’ गरी पुनः प्रयोगमा ल्याउने गरिन्छ । त्यसका लागि सयौं मानिस परिचालित हुने गरेका छन् ।

उनीहरु रोजीरोटी तथा जीविकोपार्जनका लागि फोहर संकलन र व्यवस्थापनमै आश्रित हुने गरेका छन् ।

तर, यसरी फोहोर संकलन गर्ने र फोहोरका थुप्रोबाट पुनः प्रयोगका वस्तुहरु निकाल्नेहरुको स्वास्थ्यमा विभिन्न असरहरु पर्ने गरेको पाइन्छ ।

विभिन्न कलकारखानाबाट निस्कने फोहोरहरुमा घातक केमिकलको मात्रा अत्यधिक हुने भएकाले त्यसले कामदारहरुको स्वास्थ्यमा असर पुर्‍याउने खतरा रहने गर्दछ ।

यसबाट छालाको रोग, फोक्सोमा समस्या, दम, आँखामा असर, निमोनिया, एलर्जी, मुटुरोगजस्ता रोगहरु लाग्ने चिकित्सकहरु बताउँछन् ।

कामदारहरु हातमा बिनापन्जा, मुखमा माक्स र खुट्टामा बिनाबुट काम गरिरहेको सर्वत्र देख्न सकिन्छ ।

काठमाडौं महानगरपालिकाले पन्जा, लुगा, माक्स र बुट पहिचानका लागि अनिवार्यरुपमा लगाउनुपर्ने नियम बनाएको छ । जसका लागि वार्षिक प्रतिव्यक्ति ७५०० रुपैयाँ दिँदै आएको छ ।

तर, महानगरपालिकाले दाबी गरेअनुसार कामदारहरुको हातमा न पन्जा देख्न सकिन्छ न त मुखमा माक्स नै । न त सबै कामदारका लागि पहिचान खुल्ने लुगाको व्यवस्था नै गरिएको छ ।

भिडियो हेर्नुहोस्