काठमाडौं, भदौ ४ । कालीमाटीका तरकारी व्यापारीले अनुगमन गर्न खटिएको टोलीको काममा अवरोध गरेका छन् ।
व्यापारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीको कामकाजमा सोमबार कालीमाटी बजार अनुगमनकाक्रममा अवरोध पुर्याएका हुन् ।
व्यापारीले बिनाजानकारी अनुगमनमा आएको भन्दै काममा अवरोध गरेका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कालीमाटी पुगी त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए ।
मन्त्री यादवले उपभोक्ताको अधिकार सुनिश्चित गर्न गएको अनुगमन टोलीलाई अवरोध गर्ने जो–कोहीलाई पनि कारबाही गरिने बताए ।
‘व्यापारीले नियमपूर्वक व्यापार गरेको भए अनुगमन टोलीमाथि दुर्व्यवहार हुँदैनथ्यो’–उनले भने–‘गतल तरिकाले व्यवसाय गरेकै कारण टोलीलाई गलत व्यवहार गरेका हुन् । त्यसको छानबिन हुन्छ ।’
मन्त्री यादवसँगै उद्योगसचिव चन्द्रकुमार घिमिरे पनि बजार अनुगमन गर्न गएका थिए ।
अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो ।
अनुगमनकाक्रममा टोलीले सोमबार बिहान कालीमाटीबाट तरकारी ढुवानी गरिएका दुई गाडी नियन्त्रणमा लिएको थियो ।
जानकारी लिनेक्रममा अनुगमन टोलीमाथि दुर्व्यवहार भएको उद्योगमन्त्रीका स्वकीयसचिव रविकिरण यादवले जानकारी दिए ।
सोक्रममा कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको उनले बताए । रासस









प्रतिक्रिया दिनुहोस्