२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


संसदमा प्रधानमन्त्री ओली–गगन थापा सवाल जवाफः नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ कसले भनेको ?, प्रधानमन्त्री–मैले भनेको


0
Shares

काठमाडौं, जेठ २८ । प्रधानमन्त्री केपी ओली र कांग्रेस सांसद गगन थापाबीच संसद बैठकमा सवाल जवाफ भएको छ ।

बुधबार प्रतिनिधि सभा संसदमा नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कस्ले भनेको ? भन्ने सांसद थापाको प्रश्नमा प्रधानमन्त्री र थापाबीच सवाल–जवाफ भएको हो ।

प्रधानमन्त्री ओलीले नेपालीका रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेपछि थापाले कसले भनेको भन्दै प्रश्न गरे । जवाफमा ओलीले भने–‘मैले भनेको हुँ । प्रतिरोध क्षमता राम्रो छ भनेर मैले भनेको हुँ । भर्खंरै भनेको सुन्नुभएन ?’

प्रधानमन्त्रीको ओठे जवाफ सुनेर पुलकित भएका सत्तारूढ नेकपाका सांसदहरुले भने खुशीले टेबुल ठोके भने प्रतिपक्षका सांसदहरु प्रधानमन्त्रीको शैली देखेर हाँसेका थिए ।

प्रधानमन्त्री ओली त्यतिमै रोकिएनन् र कुनै डाक्टर, वैज्ञानिक वा शोधकर्ताबाट रोग प्रतिरोधात्मक क्षमताबारे कुरा आए भने स्वीकार्ने भन्दै थपे, ‘नेपालीको प्रतिरोध क्षमता बढी छ । आधा नेपाली स्वच्छ हिमाली र पहाडी भेगमा बसेका छन् र त्यहाँ स्टामिना छ । तराईमा बस्नेले पनि, मरूभूमिबाट आएको तातो हावा हिमालबाट ठोक्किएर बरफ भई आएको स्वच्छ हावापानी पाउँछन् ।’

नेपालका झार उम्रँदा पनि यार्सागुम्बा हुने भन्दै उनले भने, ‘ढुंगाबाट शिलाजित निस्किन्छ । जडीबुटी र औषधिको देश हो यो । पानी हिउँबाट, हिमालमाथि बसेर पग्लेर अनेक मिनिरल तत्वसँग खेल्दै रसाएर निस्केर आउँछ ।’

नेपालीको योगा, व्यायाम गर्ने बानीले पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराएको जिकिर गर्दै जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘यहाँका मान्छे परिश्रम गर्ने, उकाली ओराली गर्छन् । योगाको, व्यायामको परम्परा छ । जहाँ योगा पैदा भएको छ । त्यहाँ इम्युनिट सिष्टम राम्रो छ । नेपालीको भान्सामा पाउरोटीमा बटर दलेर खाने होइन । दाल चामल हुन्छ । नुन, बेसार अनिवार्य हुन्छ । जीरा, धनियाँ, प्याज, लसुन, अदुवा औषधि हुन्छ ।’

नयाँ शैली भनेर पिँजातिर नजान बरु ढिँडो, अचार र साग खान सुझाउँदै भने, ‘सन्तुलित र औषधिजन्य खाना नै निरोगीपनका आधार हुन् । हरेक दिन औषधि खाएर प्रतिरोध क्षममता बढाएको नेपालीको प्रतिरोध क्षमता राम्रो हुने स्वतःसिद्ध छ । यो परम्परालाई, भान्सालाई जनताको बीचमा पनि लैजानु पर्छ । नयाँ शैली भनेर पिज्जातिर नदौडौं । ढिडो र साग अचार नै ठीक छ ।’