रोमन आचार्य (इमेज)
काठमाडौं, जेठ २६ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई इतर पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप पटक–पटक लगाउने गरेको छ ।
के देउवाले प्रतिपक्षी दलको भूमिका कमजोर बनाएकै हो त ?
नेपाली कांग्रेसको आन्तरिक व्यवस्थापनमा सभापति शेरबहादुर देउवा चुक्दै आएका छन् ।
उनले आफ्नो चारवर्षे कार्यकाल पूरा गरिसक्दासमेत पार्टीका विभागलगायतका संरचनालाई पूर्णता दिन सकिरहेका छैनन् । विधानको परिपालनामा उनी पटक–पटक चुकेका छन् ।
२०७४ सालको आमनिर्वाचनको परिणाममा कांग्रेस निकै कमजोर देखिएपछि त्यसको नैतिक जिम्मेवारी लिन दबाब दिनेदेखि देउवामाथि इतर पक्षको आक्रमण जारी छ ।
उनलाई व्यक्तिगत लाभका लागि सत्तासँग मिलेमतो गरेर पार्टीको प्रतिपक्षी भूमिका खुम्च्याएको आरोप लागिरहेको छ ।
दलका आठ सांसदले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयमा टेकेर संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावलाई बेवास्ता गरेको र अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन गराउन सत्तापक्षभन्दा एक कदम अगाडि बढेको आरोप देउवामाथि लागिरहेको छ ।
तत्कालीन प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकारको भनाइले कांग्रेस सभापतिको व्यक्तिगत लोभले बालुवाटार जग्गा प्रकरण, यती होल्डिङ्स, ‘वाइडबडी’, ७० करोडको टेप प्रकरण तथा कोरोना संक्रमणको समयमा स्वास्थ्य सामग्री खरिदमा देखिएको कान्डहरुलाई सशक्त ढंगले उठाउन विपक्षी दल चुकेको भन्ने मतहरुलाई नै बल दिन्छ ।
उसो त ओलीसँग साँठगाँठ गरी आफ्ना मानिसलाई राज्यका निकाय र संवैधानिक अंगहरुमा नियुक्ति दिलाउने लोभमा फसेको आरोप पनि देउवासँग छ ।
लोकतन्त्र बलियो हुन प्रतिपक्षी दल बलियो हुनुपर्दछ । यसलेमात्र संसदीय प्रणालीलाई बलियो बनाउँछ र सत्ताको मनपरी रोक्नसक्छ ।
कांग्रेसको अहिलेको भूमिकाले सुखद् संकेत गर्दैन ।
देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस संसदीय प्रणाली स्थापना गर्दै सुदृढ बनाउन अनेक मूल्य चुकाएर लड्दै आएको छ । यो इतिहास कायम राख्न प्रतिपक्षी भूमिकामा खरो उत्रनुपर्दछ ।
संसद र संसदबाहिर पार्टीलाई सशक्त प्रतिपक्षको भूमिकामा खरो उतारेर सत्तासँग झुकेको आरोप पखाल्ने अवसर कांग्रेस ‘कमान्डर’ देउवासँग अझै सुरक्षित छ ।









प्रतिक्रिया दिनुहोस्