२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मिडिया काउन्सिलका नाममा नयाँ ‘निजामती अड्डा’ चाहिँदैन : उपाध्यक्ष अर्याल


325
Shares

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले मिडिया काउन्सिलको नाममा ‘निजामती अड्डा’ गठन नगर्न चेतावनी दिएका छन् ।

संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयकबारे सञ्चार केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपाध्यक्ष अर्यालले समग्र पत्रकारिता क्षेत्रको अनुगमन र नियमन प्रस्तावित मिडिया काउन्सिलको संरचनाबाट सम्भव नहुने बताएका हुन् ।

“अहिले प्रस्ताव गरिएजस्तो सचिवको सिफारिसमा मिडिया काउन्सिलका नाममा अर्को निजामती अड्डा बनाउने कुरा हामीलाई स्वीकार्य छैन । हामी स्वतन्त्र , स्वायत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप नगर्ने काउन्सिलको पक्षमा छौ,” अर्यालले भने ।

विगतमा नेकपा नेतृत्वको सरकारले ल्याएको विधेयकमा केही संशोधन गरिएपनि पर्याप्त नभएको अर्यालको भनाई छ। उनले पार्टीको प्रचारमा खटिएकाहरुलाई मिडिया काउन्सिलमा नियुक्ति नदिने प्रावधान हुन नहुने बताए । संसदीय समितिले सञ्चार क्षेत्रले उठाएका माग सम्बोधन गरेर मात्रै विधेयक अगाडि बढाउनुपर्नेमा अर्यालको जोड थियो ।

प्रेस युनियन सधै लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारको पक्षमा उभिने भन्दै उपाध्यक्ष अर्यालले युनियनको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विधेयकका त्रुटीहरु सच्याउन सरकारसँग माग गरेको जानकारी दिए ।कार्यक्रममा प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले विधेयकबारे सञ्चार क्षेत्रले उठाएका माग सम्बोधनका लागि पहल गर्ने बताइन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिबहादुर थापा , राजधानी दैनिकका सम्पादक सागर पण्डित , नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई , अधिवक्ता अनन्तराज लुइँटेल र प्रेस चौतारीमा उपमहासचिव शुरोजंग पाण्डेले विधेयकका विवादास्पद प्रावधान हटाउनुपर्नेमा जोड दिएका थिए ।