काठमाडौं, भदौ ३ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पुनःनिर्माणका लागि चौथोपटक टेन्डर आह्वान गरेको छ ।
तीनपटकसम्मको टेन्डरमा कुनैपनि निर्माण कम्पनी सहभागी नभएपछि क्यानले चौथोपटक टेन्डर आह्वान गरेको हो ।
चौथोपटकको टेन्डरमा भने निर्माण कम्पनी आउने अपेक्षा गरेको क्यानले जनाएको छ ।
निर्माण कम्पनी छनोटपछि पुनःनिर्माणका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरी धानवमार्ग निर्माणलाई तीव्रता दिइने क्यानका महानिर्देशक सन्जीव गौतमले बताए ।
पुनःनिर्माणका लागि सबै प्राविधिक पक्ष सवल रहेको क्यानको दाबी छ ।
चालू आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा क्यानले हेलिकोप्टरको भाडादर तोक्ने तयारी गरेको पनि जानकारी गराएको छ ।
हेलिकोप्टर कम्पनीले जथाभावी शुल्क लिएको भन्दै प्राधिकरणले भाडादर तोक्ने महानिर्देशक गौतमले बताए ।
प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आएपछिमात्रै नागीडाँडामा विमानस्थल निर्माणका लागि मुआब्जाको काम गर्ने जनाएको छ ।
इआइएको प्रतिवेदनअगाडि विमानस्थल निर्माणसम्बन्धी कुनैपनि प्रक्रिया अगाडि नबढ्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भारतबाट स्वीकृति आएपछि नेपालगन्जबाट नयाँदिल्ली उडान भर्नसक्ने गरी काम भएको पनि जानकारी गराएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्षका लागि ४५ अर्ब १७ करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।









प्रतिक्रिया दिनुहोस्