
काठमाडौं, जेठ १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका लक्ष्य हासिल हुने विश्वास व्यक्त गरेका छन् ।
मन्त्रालयमा शुक्रबार भचुअल माध्यमबाट भएको पत्रकार सम्मेलनका क्रममा उनले विशिष्ट परिस्थिति भएरै बजेटको आकार घटाइएको र यो कार्यान्वयन हुने आधार पनि प्रस्तुत गरे ।
कोरोना महामारीका प्रभावका कारण नै पछिल्ला तीन वर्ष देखिएको ७ प्रतिशतको औसत वृद्धिको लक्ष्यमा सरकार सन्तुष्ट भएको डा. खतिवडाले बताए ।
कोरोनाको प्रभाव सामान्य हुनेबित्तिकै अर्थतन्त्र चलायमान हुने र बजेटमा सामाजिक, श्रम, राहतलगायतका कार्यक्रममा बढी बजेट विनियोजन भएकाले परिचालन प्रभावकारिता बढ्ने उनको दाबी छ ।
श्रमिक वर्गलाई लक्षित गरी ल्याइएको यो नै पहिलो बजेट भन्न मिल्ने भन्दै उनले प्रत्यक्ष, परोक्ष सातदेखि आठ लाख रोजगारी सिर्जना हुन पुग्ने पनि उल्लेख गरे ।
१०औं लाख विदेशी कामदारले फाइदा लिइरहेकातर्फ सरकारले ध्यानकेन्द्रित गरी नेपालीलाई दक्ष बनाइ उक्त स्थानमा फिट हुनसक्ने कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
राहत एउटै खालकोमात्र नहुने भन्दै उनले निजी क्षेत्र पुनरुत्थानका लागि उचित राहत ल्याइएको र यसमा मात्रै विभिन्न माध्यमबाट सरकारको ५५ देखि ६० अर्ब खर्च हुने उनले उल्लेख गरे ।
आन्तरिक उत्पादनलाई बढावा दिन राजश्वको दरमा खासै परिवर्तन नगरिएको, दायरा भने बढाइने र अन्तःशुल्क हटाउँदै जानुपर्छ भन्ने नीति अनुसार एक दर्जन बढी वस्तुमा अन्तःशुल्क पूरै हटाइएको पनि उनले बताए ।
आन्तरिक ऋणलाई सीमाभित्रै राखिएको र अहिले खर्च नभएका ऋण र अनुदान पुनः दिन दातृनिकायहरु सहमत भएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
संघको बजेट संकुचन हुँदा पनि प्रदेश र स्थानीय तहमा जाने स्रोत संकुचन हुन नदिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्