
विराटनगर । प्रदेश १ का मन्त्री र सांसदहरुले मानव सिर्जित विपद्का घटनालाई न्युनिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीवार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले विराटनगरमा आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भुमिका विषयक कार्यक्रममा मन्त्री र सभासदहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा उहाँहरुले पछिल्लो समय विकासको नाममा विपद् निम्ति रहेकाले यसलाई बेलैमा रोक्नुपर्नेमा तीन वटै तहका सरकारहरु एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।
प्राकृतिक विपद् न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान गरेर राष्ट्रिय नीति बनाउनुपर्ने उहाँहरुको भनाइ छ । प्राकृतिक र मानव सिर्जित विपद्लाई न्युनिकरण गर्न तीन वटै तहका सरकारको समन्वयकारी भुमिका आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश १ को आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मौसमजन्य विपद्बारे राम्रो योजना नहुँदा बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताउनु भयो । उहाँले सम्बन्धित निकायका असावधानी र गतिविधिले पनि विपद् निम्त्याइरहेको बताउनु भयो । उहाँले शहर र शहरोन्मुख क्षेत्रमा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन गर्न नसके आगामी दिनमा ठूलो विपद् निम्तिने खतराबारे ध्यान पु¥याउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले विपद्जन्य घटना कम गर्न व्यवहारिक रुपमा नै नीति निर्माण बनाएर कार्यान्वयन गर्नुपर्ने खाँचो भएको बताउनु भयो । मन्त्री कार्कीले विपद्लाई न्युनिकरण कसरी गर्ने भन्ने कुराको पूर्व तयारी प्रदेश सरकारले गरिरहेको उल्लेख गर्दै जोखिम क्षेत्रको नक्शांकन गरेर न्युनिकरण गर्ने र विपद्पछिको पुनर्निर्माणका लागि बजेट छुट्याएर अघि बढेको बताउनु भयो ।
फरक प्रसंगमा मन्त्री कार्कीले सामाजिक सञ्जालबाटै आरोपी र न्यायाधीश बन्ने÷बनाउने कुरा बढी भइरहेकोले यसलाई नियमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हालै डुबानमा परेको सप्तकोशी नदीको विषयलाई लिएर काठमाडौंमा घर हुने र पजेँरो चढ्नेहरुले समेत सुकुम्वासी भनेर नाम लेखाएको भन्दै वास्तविक सुकुम्वासीको पहिचान गर्न आवश्यक रहेको बताउनु भयो ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग रहेको कार्यक्रममा प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद् व्यवस्थापनका लागि मन्त्रालयले पूर्व तयारीका काम गरिरहेको बताउनु भयो । उहाँले प्रदेशमा दक्ष जनशक्तिको अभाव रहेका कारण पनि कतिपय समस्याहरु भइरहेको बताउनु भयो । उहाँले विपद्बाट आर्थिक, सामाजिक विकासलाई पछि धकेल्ने कुराको ज्ञान सबैमा फैलाउन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले विकासको नाममा जथाभावी सडक बिस्तार गर्दा विपद्जन्य घटना बढेको बताउनु भयो । मन्त्री यादवले विपद्को बारेमा एक अर्कामाथि दोषारोपण गर्ने प्रवृत्तिलाई हटाएर अघि बढेमात्रै आम नागरिकको चाहनालाई पूरा गर्नसक्ने बताउनु भयो । उहाँले प्रदेश सरकार अहिले प्रदेशका सबै जिल्ला अस्पताललाई सक्रिय र व्यवस्थित बनाएर अघि बढीरहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश १ को न्याय प्रशासन तथा विधायन समिति सदस्य एवं प्रदेश सभा सदस्य हिमादेवी बस्नेतले मानवसिर्जित प्रकोपको व्यवस्थापनमा प्रभावकारी रुपमा लाग्न नसकेको बताउनु भयो । उहाँले राहत वितरणमा एकद्वार प्रणालीको अभाव रहेको र लामो प्रक्रियाका कारण पनि कतिपय समस्या सिर्जना भइरहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेश १ को सार्वजनिक लेखा समितिका सभापति शिवनारायण गनगाईंले प्राकृतिक विपद्पछि राहत दिने भन्दापनि विपद् हुन नदिन तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राकृतिक विपद् न्युनिकरण गर्न जोखिम क्षेत्रको पहिचान गरेर राष्ट्रिय नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले प्रदेशमा रहेका जोखिमयुक्त स्थानको पहिचान गरेर सम्भावित दुर्घटना हुन नदिने काम गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश १ को न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले विपद् व्यवस्थापनका काम गर्नका लागि साधन श्रोतका हिसावले प्रदेश सभा कमजोर रहेको बताउनु भयो । उहाँले आर्थिक पक्ष मजबुत नभएसम्म दीर्घकालीन रुपमा समिति र प्रदेश सरकारले कुनैपनि काम सहज रुपमा गर्न नसक्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै विपद् विज्ञ रामचन्द्र न्यौपानेले शिक्षा र स्वास्थ्य विपद् उत्थानशील भए÷नभएको बारेमा पनि अध्ययन, अनुसन्धान हुन जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्