Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


कांग्रेसको महासमिति बैठक अन्योलमा (भिडियो)


0
Shares

अक्कल कुँवर/सहदीप केसी (इमेज)

काठमाडौं, भदौ २ । गत चैत र वैशाख महिनामा लामो समय बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भदौभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो ।

महासमितिको लागि बैठकमा प्रस्तुत् गरिने विधान संशोधनको मस्यौदा तयार भइसक्नुपर्ने हो ।

तर, अहिलेसम्म विधान संशोधन मस्यौदा समितिसमेत गठन हुन नसकेपछि महासमिति बैठक अनिश्चित बनेको छ ।

गत वर्ष सम्पन्न तीनओटै तहका निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्र अग्रिम महाधिवेशन बोलाउन जोडदार आवाज उठ्यो ।

पराजयको समीक्षा गर्न बसेको केन्द्रीय समितिको बैठकले अग्रिम वा विशेष महाधिवेशनको आवाज मत्थर पार्न भदौभित्रै महासमिति बैठक बोलाउने निर्णय गर्‍यो ।

तर, अहिलेसम्म महासमिति बैठकमा प्रस्तुत् गर्नुपर्ने विधान संशोधन मस्यौदा समितिसमेत बन्न सकेको छैन ।

त्यसो त कांग्रेसको विधानमा वर्षमा एकपटक महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था छ । तर, वर्तमान केन्द्रीय कार्यसमितिको कार्यकाल दुई वर्ष चार महिना बितिसक्दा एकपटक पनि महासमिति बैठक बसेको छैन ।

पार्टीको संस्थापनइतर समूह सभापति देउवाले आफ्नो स्वार्थका लागि महासमिति बैठक धकेल्दै गएको आरोप लगाउँदै आएको छ । संस्थापन पक्ष भने आफूइतर समूहले लगाएको आरोपको खन्डन गरिरहेको छ ।

केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय सभापति देउवाका कारण महासमिति बैठकमा ढिलाइ नभएको भन्दै अब छिट्टै मिति घोषणा हुने जिकिर गर्छिन् ।

हुन त निर्वाचनमा पराजयपछि संस्थापनइतर पक्ष सभापति देउवासँग आक्रोशितमात्र नभइ संगठित भएर नै विरोधमा लागिरहेको छ ।

आफूमाथि भइरहेको विरोध मत्थर पार्दै लैजाने र आफूअनुकूल परिस्थिति बनेपछिमात्र महासमिति बैठक बोलाउने रणनीतिमा लागेको देउवाइतर पक्षको आरोप छ ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले महासमिति बैठक थप अनिश्चित भन्दै गएको छ ।

कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी परियारले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालेमात्रै महासमिति बैठकमा ढिलाइ नभएको जिकिर गरिन् ।

मुलुक संघीय ढाँचामा गइसके पनि संविधान निर्माणको नेतृत्व गरेकै दलको पार्टी संरचना भने अझै पुरानै छ ।

महासमिति बैठक राज्यको संघीय ढाँचाअनुसार पार्टी रुपान्तरण गर्ने महत्वपूर्ण खुड्किलो हो ।

महासमितिकोे दुईतिहाइ मतले विधान संशोधन गरेपछिमात्रै पार्टी संरचना रूपान्तरणको ढोका खुल्छ ।

भिडियो हेर्नुहोस्