Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


संसदको लोगो र सांसदहरुले प्रयोग गर्दै आएको लोगो परिवर्तन गरिने


0
Shares

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले संघीय संसदको लोगो र सांसदहरुले प्रयोग गर्दै आएको लोगोलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले संसदको रोष्ट्रममा राखिएको लोगो र सांसदहरुले लगाउँदै आएको लोगो परिमार्जन गर्ने निर्णय कार्यान्वयनका लागि तत्काल प्रक्रिया अघि बढाउन संघीय संसद सचिवालयलाई निर्देशन पनि दिएको छ ।

बैठकमा संविधान संशोधनका लागि सबै राजनीतिक दलहरु एकजुट भएर अगाडी बढ्ने विषयमा पनि छलफल भएको छ ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले राष्ट्रिय सहमतिका विषयमा सल्लाह गरेर अगाडी बढ्ने र कोरोना नियन्त्रणमा भएका कमजोरी सच्याएर प्रभावकारी ढंगले अगाडी बढ्ने विषयमा सभामुख मार्फत सरकारलाई सुझाव दिने विषयमा छलफल भएको बताए ।

बैठकले नेपालको नयाँ नक्सा समेत समेटेर संसदको लोगो जारी गर्न सभामुखलाई सिफारिस गरिएको उनले बताए ।

बैठकले बजेट विनियोजनपछि जेठ २६ गतेसम्मको संसदको कार्यक्रम पनि तय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटमाथिको छलफल र संसदको अन्य कार्यक्रमलाई छोटो बनाउने विषयमा छलफल भएको बताए ।

सुरक्षित र प्रकृयागत रुपमा संसदका कार्यक्रम सञ्चालन गरी अगाडी बढ्दै संविधान संशोधनका लागि सबै दलहरुसँग छलफल गरी सहमतिका लागि सरकारले पहल गर्न आग्रह गर्ने विषयमा पनि छलफल भएको बताए । 

सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि निशान छापमा रहेको नक्सा परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव पेश गरेको छ ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ नक्सा गरी गरिसकेको छ ।

यसअघि राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति बैठकले पनि लोगो परिवर्तनको निर्णय गरेको थियो ।