
काठमाडौं । अनावश्यक हर्न बजाउनेमाथि कारवाही गर्ने अभियानलाई ट्राफिक प्रहरीले फेरि कडाईसाथ ब्यूँताएको छ । ६ वर्षअघि अभियानकै रुपमा हर्न विरुद्ध कारवाही थालेको प्रहरी चालकले लापर्वाही बढाएको भन्दै फेरि त्यही बाटोमा उभिएको हो । नयाँ हाकिम आउनासाथ एक एकवटा फण्डा निकाल्ने प्रहरी प्रवृत्तिकै निरन्तरता हो या आवश्यकता त्यो भने आगामी दिनले सुनिश्चित गर्ने छ ।
कुनै दिन सार्वजनिक यातायातको पीक एण्ड ड्रपलाई ट्राफिक प्रहरीले महत्वकासाथ उचालेको थियो । यो निर्णयले काठमाडौंको जाम व्यवस्थापन हुने उसको विश्वास थियो । अलि समय सडकमा फूर्तीफार्ती पनि देखिएकै हो । तर समय घर्किएसँगै अहिले त्यो निर्णय पानीमा लेखेको अक्षर बन्न पुग्यो ।
सार्वजनिक यातायातमा आरक्षण सीट दुरुपयोग, लेन उल्लंघन, हेल्मेट प्रयोगमा जथाभावी, सीट बेल्ट नलगाउने, लाइसेन्स बिना सवारी, क्षमता बढी यात्रु कोच्ने प्रवृत्ति, साइलेन्सर बिगारेर मोटरसाईकल चलाउने चालकमाथिको कारवाहीजस्ता महत्वपूर्ण एजेण्डामा ट्राफिक प्रहरीले बेलाबेलामा कडाईसाथ निर्णय नगरेको होइन । तर ती समस्या समाधान भएर लयमा आइनसक्दै पहिलाको निर्णयले मूल्यांकन नगरी अर्को चाङ लाग्ने गरेको छ । महानगरपालिका र ट्राफिक प्रहरी नेतृत्व पछिल्लो निर्णयबाट पछि नफर्किने बताउँछ ।
सडक अनुशासनमा चालकलाई बाँध्न हरेक सवारी साधनमा हर्न विरुद्धको स्टीकर लगाउन थालिएको छ । यी दुई निकायले सहकार्यमा काठमाडौं उपत्यकाको पार्किङ व्यवस्थित बनाउने अभियान थालेको बताएका छन् । यसका लागि पार्किङका लागि बनाइएका ठाउँमा सामान भण्डारण गर्ने प्रवृत्ति विरुद्ध लाग्ने उनीहरुको सामूहिक तयारी छ ।
त्यसो त मादक पदार्थ विरुद्धको कारवाही ट्राफिक प्रहरी महाशाखाले पाएको अभूतपूर्व सफलता हो । त्यसमाथि लागूऔषधका सेवनकर्ताको अवस्था जाँच्न ट्राफिकले थालेको चेकजाँच अर्को उपलब्धिको फड्को हो । मानवीय सुरक्षाका दृष्टिले गरिने हरेक निर्णय सकारात्मक भएपनि त्यसलाई दीगो र प्रभावकारी बनाउने तर्फ अर्जुनदृष्टि लाउनु आवश्यक छ । ताकि सरकारी निर्णय मौसमी हुन्छ भन्ने प्रभावबाट नागरिक तह मुक्त हुन सकोस् ।
प्रतिक्रिया दिनुहोस्