
काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी)का कारण नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ ।
ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपाल बारे अन्तरक्रियात्मक कार्यक्रममा डा. केसीले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको बतउनुभयो ।
डा. केसीले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको बताउनु भयो ।
डा. केसीले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको होइन ? भन्दै प्रश्न गर्नुभयो । एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको उहाँले आशंका गर्नुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ डा. केसीले सरकारले नागरिकलाई एसपीपीको बारेमा जानकारी नगराउनु र एसपीपीको बारेमा मन्त्रिपरिष्ले निर्णय गरेपछि पनि पत्र नपठाउनुले देशको असंलग्न परराष्ट्र नीतिमा विचलन आउनसक्ने आशंका रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरुले नेपाललाई बढी नियालीरहेको बताउनुभयो । डा. केसीले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीहरुको बाक्लिँदो नेपाल भ्रमणले जनतामा विभिन्न संशय पैदा गरेको बताउनुभयो ।
भूराजनीतिक मामिलाका विश्लेषक समेत रहेका डा. केसीले नेपालमा बीआरआईमा हस्ताक्षर गर्दा नेपाली काँग्रेस र नेकपा माओवादीको सरकार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत रहेको उल्लेख गर्दै सबै राष्ट्रिय दलहरुको सहमतिमा नै बीआरआईमा हस्ताक्षर भएको बताउनुभयो ।
उहाँले डोनाल्ड लू अमेरिकाको विदेश मन्त्रालयका उपसचिव भएको तर नेपालमा दक्षिण एशिया हेर्ने भनिसकेपछि ठूलो रुपमा बखान गरिएको दाबी गर्नुभयो । उहाँले नेपालमा पसचिवले नै दक्षिण एशिया थर्कमान बनाउँछन् भन्ने डर रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एमसीसी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने प्रशस्त वहसको विषय भएको बताउनुभयो ।
उहाँले अमेरिकाले पटक–पटक एमसीसीको बारेमा बताइरहँदा समेत नेपालले कुनै प्रतिक्रिया र देशको स्वाधिनताका लागि खबरदारी नगर्नुले नेपाली समाज नलेजिबल बनिनसकेको जस्तो महशुस भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्