काठमाडौं, साउन ३१ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ ।
कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरिद गरी प्रयोगमा ल्याउन लागेको हो ।
‘कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो ?’ यसकाबारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन ।
सडक विभागअन्तर्गत् हाल १४ हजार किलोमिटर सडक निर्माण भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले संघीय संसद, विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा सो जानकारी दिँदै बनेका सडकमध्ये स्थानीय तह, प्रदेश तथा संघ कुनबाट सन्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने बताए ।
‘काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी कहिलेसम्म पुरिन्छ ?’ भन्ने सांसदको जिज्ञासामा मन्त्री महासेठले भदौ १२ गतेसम्म पुरिसक्ने जवाफ दिए ।
उनले पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको जानकारी दिँदै कलंकी–नागढुंगा, चाबहिल–साँखु सडक उपलब्ध जमिनका आधारमा नै निर्माण अगाडि बढाउने नीतिगत निर्णय भएको बताए ।
‘सर्वोच्च अदालतबाट विशेषगरी ती दुई सडक विस्तारकाक्रममा भएको आदेशलाई पुनरावलोन गर्न सरकारले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिइसकेको छ’–मन्त्री महासेठले भने ।
मन्त्री महासेठले असार १ गतेदेखि मसान्तसम्म सडक निर्माण गर्न रोकिएको जानकारी दिँदै असारे सडक विकास अब रोकिने जानकारी दिए ।
सांसद बहादुरसिंह लामाले विस्तृत् कार्ययोजना बनाएरमात्र सडक निर्माण कार्य सुरु गर्न सुझाव दिँदै पहुँचभन्दा आवश्यकताका आधारमा निर्माण गर्नुपर्ने बताए ।
सांसद यज्ञराज सुुनुवारले ‘डोजरचालक इन्जिनियर हुने र उपभोक्ता समितिका सदस्य निर्देशक भइ ग्रामीण तहमा सडक खन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ’–भने ।
सांसद गणेश पहाडीले सडक निर्माणमा दीर्घकालीन सोच र अवधारणा बनाउन आवश्यकता रहेको बताए ।
सांसद आशाकुमारी विकले पहिरोका कारण दुई महिनाको अवधिमा १८ जनाको मृत्यु भइसकेको हुँदा अवरुद्ध चैनपुर–खोर्पे सडक नियमित गर्न माग गरिन् ।
सांसद रंगकुमारी शाहीले रेलभन्दा मोटरबाटोको आवश्यकता रहेको चर्चा गर्दै ‘सिमकोट–हिल्सा सडकको ‘ट्रयाक’ खोल्ने काम कहिलेसम्म सम्पन्न हुन्छ ?’ भनी प्रश्न गरिन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग, रक्सौल–काठमाडौं रेलमार्गका लागि मन्त्रालयले विभिन्न काम अगाडि बढाएको जानकारी दिए ।
सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले भदौ महिनाको अन्त्यसम्म काठमाडौं उपत्यकाको सडकको स्वरुपमा परिवर्तन आउने दाबी गरे । रासस









प्रतिक्रिया दिनुहोस्