१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


एम्बुलेन्समा जिपिएस जडान : तत्काल सेवा


0
Shares

बनेपा, बैशाख २५ । तपाईं अस्पताल जान एम्बुलेन्सको खोजीमा हुनुहुन्छ रु हुनुहुन्छ भने अब तपाईंले एम्बुलेन्स पिच्छे चालक वा व्यवस्थापन समितिको नम्बर खोजिरहनु पर्दैन । मात्रै १६६०११२२००० मा फोन गरेपछि तपाईंले भनेको स्थानमा एम्बुलेन्स लिन आइपुग्छ । यसका लागि दुईजना चौबीसै घण्टा फोन उठाउन खटिएका छन् ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका सेवाग्राहीका लागि धुलिखेल अस्पतालको ‘डिस्प्ले सेन्टर’ मा रहेको उक्त टोल फ्रि नम्बरमा फोन गरेपछि सो सेवा उपलब्ध हुने बताइएको छ । सो सेन्टरमा रहनेले नै नजिक रहेको एम्बुलेन्सलाई सम्पर्क गरी सम्बन्धित ठाउँमा पठाउने व्यवस्थाको अभ्यास गरिरहेको नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्व सेवा प्रमुख भोजराज ओझाले जानकारी दिए ।

यसका लागि सेवाग्राहीलाई छिटो छरितो ढङ्गले समयमै सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्समा जिपिएस प्रविधि जडान गरेर सञ्चालन हुँदै आइरहेको जनाइएको छ ।

सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्समा जिपिएस प्रविधि जडान गरी कुन एम्बुलेन्स कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा पत्ता लगाउन सो प्रविधि जडान गर्न लागिएको हो ।

उनले सेवाग्राहीले आवश्यक पर्ने समयमा एम्बुलेन्स सेवा प्रदान गर्न  जिपिएस प्रणाली जडानको शुरुवात गरेको बताए । फोन आएको स्थान नजिक रहेको एम्बुलेन्सलाई परिचालन गरेर बिरामीलाई छिटोभन्दा छिटो सेवा दिन सकिने गरी यो प्रविधिको जडान गर्ने कार्य भइरहेको उनले जानकारी दिए । धुलिखेल अस्पतालमा रहेर सो काममा खटिरहनुभएका उहाँले यसअघि धुलिखेल अस्पतालको दुईवटा एम्बुलेन्स, चौरीदेउराली गाउँपालिका र बेथानचोक गाउँपालिकाको एक/एकवटा गरी जिल्लाभरिमा चारवटा एम्बुलेन्समा जडान गरेको उनले बताए ।

“अब जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा जिल्लामा दर्ता भएका सबै एम्बुलेन्समा जिपिएस प्रणाली जोड्ने काम अगाडि बढिसकेको छ ।” उनले भने, “बुधबार १३ वटा एम्बुलेन्समा जोडिसकेका छौँ, अबको एक हप्ताभित्रमा अरु बाँकी रहेका सबै एम्बुलेन्समा जोडिसक्छौँ ।” एउटा एम्बुलेन्समा जिपिएस प्रविधि जडान गर्नका लागि रु. १२ हजार ५०० लाग्ने र प्रत्येक महिना रु. ५०० को रिचार्ज कार्ड हाल्नुपर्ने हुन्छ । शुरुको वर्ष रु १२ हजार ५०० तिरेपछि वार्षिकरुपमा नेटको चार्जवापत रु. ६०० तिरेपछि निरन्तर चलिरहने उनको भनाइ छ ।

प्रमुख ओझाले भन्नुभयो, “त्यो प्रविधि जडान गरेपछि प्रत्येक १२ सेकेण्डमा गाडी कुन लोकेशनमा कहाँ जाँदैछ भन्ने कुरा प्रष्ट हेर्न सकिन्छ ।” त्यसबाट कहाँ कुन ठाउँमा कतिको स्पिडमा गुड्यो भन्ने कुरा सबै जानकारी लिन सकिने भएकाले कसैले पनि ढाँटेर बस्ने र सेवा दिन हिच्किचाहट गर्ने प्रवृत्तिको अन्त्य हुने उनले बताए ।

ती सबै प्रविधि जडान भएका एम्बुलेन्सको कन्ट्रोल धुलिखेल अस्पतालमा हुनेछ । अस्पतालमा डिस्प्ले सेन्टर भनेर दुईवटा एलसिडी राखेर ती सबैको अनुगमन गरिरहेको छ । जिल्लामा भएकामध्ये चारवटा ‘ख’ वर्गको चौबीसै घण्टा सेवा दिने र अरु सबै ‘ग’ वर्गको रहेको छ । त्यसरी प्रविधि जडान गर्ने एम्बुलेन्स काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक जिल्लाको पनि रहेको छ । सिन्धुपाल्चोकमा अहिलेसम्ममा जलबिरे, मेलम्ची र बाह्रबिसेमा रहेको एम्बुलेन्समा जिपिएस जडान गरिसकेको छ । त्यहाँ २७ वटा एम्बुलेन्स दर्ता भएर सञ्चालन भइरहेका छन् ।

केन्द्रले आमसर्वसाधारणका लागि १६६०११२२००० टोल फ्रि नम्बर सार्वजनिक गरेको छ । सेवाग्राहीले फोन गरे पनि कुन ठाउँबाट कसलाई सेवा चाहिएको हो, त्यही ठाउँको एम्बुलेन्समार्फत तत्काल सेवा दिन सकिने गरी काम गरिरहेका जनाइएको छ । यो सेवा अगाडि बढेसँगै अब कुन एम्बुलेन्सलाई बोलाउने भनेर सेवाग्राही आफैँले नम्बर र चालक खोजेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने जनाएको छ ।

जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लामा भएका एम्बुलेन्समध्ये १९ वटालाई कोभिड फ्रेन्डली बनाइसकेको जानकारी दिए ।

बाँकी एम्बुलेन्सलाई पनि कोभिड फ्रेण्डली बनाउँदै लैजाने र जिपिएस पनि जडान गरेर सेवाग्राहीलाई दिनुपर्ने सेवामा छिटो बनाउन प्रयत्न भइरहेको उनले बताए । स्थानीय तहमा रहेका एम्बुलेन्समा सकेसम्म स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिदिन आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।  उनले एम्बुलेन्सका लागि भाडादर कायम गर्ने व्यवस्थापन छिट्टै गर्ने जानकारी दिँदै चालक र व्यवस्थापन समितिले सुरक्षित तवरले थप जिम्मेवारीका साथ काम गर्न आग्रह गरे । रासस