२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हत्केलामा ज्यान, पढाइमा ध्यान


117
Shares

तनहुँ । व्यास नगरपालिका–११, सेरास्थित वसन्त आधारभूत विद्यालयमा अध्ययनरत चार वर्षीया छात्रा युविना थापा खोलामा बगेर घाइते भइन् । विद्यालय नजिकैको बुल्दी खोलाले असार २ गते बगाएपछि सख्त घाइते युविनाको पोखरास्थित फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

युविना मात्रै होइन, अरू विद्यार्थी पनि वर्षायाममा जोखिम मोलेरै खोला तर्न बाध्य छन् । पुल नभएको ठाडो खोला उर्लिएर आउने भएकोले बालबालिकालाई खोला तार्न अभिभावक नै आउनुपर्ने बाध्यता छ ।

विद्यालयका प्रधानाध्यापक माधव खनालले अभिभावक नभएको बेला बालबालिका हत्केलामा ज्यान राखेर आफैँ खोलो तर्ने गरेको बताउनुभयो ।

उहाँले सो विद्यालयका अतिरिक्त सेरा, घाँसीकुवा र बेल्टारीफाँटमा पुल नहुँदा दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय, निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, व्यास नगरपालिका–११, फराकचौरस्थित वाराही माध्यमिक विद्यालय, व्यास नगरपालिका–१२ स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका साथै विभिन्न निजी विद्यालयमा अध्ययन गर्ने दुई सयभन्दा धेरै विद्यार्थीलाई आवतजावतमा समस्या परेको बताउनुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।