दीपक श्रेष्ठ र राजेन्द्र नापित (इमेज)
काठमाडौं, वैशाख १९ । काठमाडौं भित्रने मुख्य नाका नागढुंगामा आधुनिक ‘डिसइन्फेक्सन टनेल’ सञ्चालनमा ल्याइएको छ ।
चन्द्रागिरि नगरपालिकाको सहयोगमा सुन्दर यातायात प्रालिले निर्माण गरेको टनेलको प्रयोगबाट सवारी–साधनलाई निसंक्रमण गर्ने र कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
सामान्य समयमा नागढुंगाबाट दैनिक १० देखि १५ हजार सवारी–साधन भित्रने गर्दछन् ।
तर, अहिले ‘लकडाउन’को समयमा भने खाद्यान्न बोक्ने साना–ठूला गरी दैनिक ४०० को हाराहारीमा मात्र सवारी–साधन भित्रने गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण यस्ता सवारी–साधनलाई पनि अब ‘डिसइन्फेक्सन’ गर्न थालिएको छ ।
सुरुको चरणमा ठूला सवारी–साधनलाई मात्र अनिवार्यरुपमा डिसइन्फेक्सन टनेलमा प्रवेश गराइ ‘डिसइन्फेक्सन स्प्रे’ गर्ने व्यवस्था मिलाइएको छ ।
टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ ।
एउटा सवारी–साधनका लागि करिब एक लिटर पानी लाग्ने अनुमान गरिएको छ ।
दैनिक तीन हजार सवारी–साधनका लागि टनेल पर्याप्त हुने चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।
२० फिट लामो १५ फिट चौडाइको टनेल २० फिट अग्लो छ ।
दुई लाख ५६ हजार रुपैयाँको लागतमा टनेल निर्माण गरिएको सुन्दर यातायात प्रालिले जनाएको छ ।
टनेलको लागि आवश्यक पानी, बिजुली र ठाउँ चन्द्रागिरि नगरपालिकाले उपलब्ध गराएको हो ।
काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा टनेल निर्माण गरेको हो ।
सबैको साथ–सहयोग रहे अरु स्थानमा पनि डिसइन्फेक्सन टनेल बनाउने सुन्दर यातायातका अध्यक्ष सुभाष थापाले बताए ।
टनेलको सञ्चालन नेपाल प्रहरीले गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्