
काठमाडौं, बैशाख १७ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा खुम्चने भएको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार एक तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव २७ प्रतिशतमा झर्ने जनाएको हो ।
चालु आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत वृद्धिदरको लक्ष्य लिएको सरकारलाई यो तथ्यांक निकै निराशाजनक हो । आर्थिक वर्षको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर यसरी खुम्चिने विभागले जनाएको हो ।
विभागले कुल गार्हस्थ उत्पादनको वार्षिक वृद्धिदरबारे आफ्नो प्रतिवेदनमा भनेको छ, ‘चालु आर्थिक वर्ष २०७६/७७ को सातदेखि नौं महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाका आधारमा तयार पारिएको तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादन स्थीर मूल्य वृद्धिदर, आधारभूत मूल्यमा २.२७ प्रतिशत रहने प्रारम्भिक अनुमान रहेको छ ।’
२०७५/०७६ को आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.७५ थियो । २०७४/७५ मा भने यो ६.३५ प्रतिशत रहको पनि विभागले जनाएको छ ।
कोरोनाले सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको भन्दै विभागले प्राथमिक क्षेत्रको वृद्धिदर २.५४ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १.९९ प्रतिशतमा रहने जनाएको छ ।
विश्व बैंक, आइएमएफ, एशियाली विकास बैंकलगायत विश्वको अर्थतन्त्रको मूल्यांकन गर्ने संस्थाहरुले पनि नेपालको आर्थिक वृद्धिदर निकै नै खुम्चिने प्रक्षेपण यसअघि गरिसकेका थिए ।
प्रतिक्रिया दिनुहोस्