प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, वैशाख १७ । ‘लकडाउन’का कारण शैक्षिक क्षेत्र निकै प्रभावित बनेको छ ।
‘एसइई’देखि विश्वविद्यालय तहसम्मका परीक्षा रोकिएका छन् । नयाँ शैक्षिकसत्रसमेत सुरु हुन सकेको छैन ।
यो समयमा शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
तर, सबैतिर अनलाइन कक्षा सञ्चालन गराउन भने सम्भव नभएको विज्ञहरुको भनाइ छ ।
शिक्षा मन्त्रालयले लकडाउनको समयमा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको कक्षा कसरी सञ्चालन गराउन सकिन्छ भन्नेबारे अध्ययन गर्न छुट्टा–छुट्टै विषयमा ६ ओटा कार्यदल बनाएको थियो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको कार्यदलले शिक्षण पद्धति कस्तो रहने भन्नेबारे सुझाव दिनेछ ।
जसअन्तर्गत् रहेको वैकल्पिक शिक्षण पद्धति कार्यदलले भने अनलाइन, रेडियो, टेलिभिजन र अन्य उपायबाट पढाउन सकिने सुझाव दिएको छ ।
कार्यदलका संयोजक एवं खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले इन्टरनेटको पहुँच पुगेका र पहुँच नपुगेका बालबालिकालाई कसरी पढाउन सकिन्छ भन्नेबारे सुझाव तयार पारेको जानकारी दिए ।
विद्यालय तहदेखि विश्वविद्यालय र पाठ्यक्रम विभाग, परीक्षा बोर्डलगायतका पदाधिकारीको प्रतिनिधित्व रहेको कार्यदलले दिएको सुझावमा हाल छलफल भइरहेको भन्दै संयोजक डा. शर्माले रेडियो, टेलिभिजन र इन्टनेटको पहुँचभन्दा बाहिर रहेकालाई समेट्ने गरी सुझाव तयार पारिएको बताए ।
केही सरकारी र निजी विद्यालयहरुले भने अनलाइनबाट पढाउन सुरु गरिसकेका छन् ।
तर, ‘भर्चुअल’ कक्षाबाट पढाउँदा गृहकार्य कसरी गराउने भन्नेबारे अर्को प्रश्न उब्जिएको छ ।
यस्तै, बालबालिकालाई अनलाइन कक्षासँग कसरी अभ्यस्त बनाउने भन्ने समस्या पनि यथावत् छ ।
अनलाइन पठन–पाठनमा देखिएका समस्यालाई कसरी सरलीकृत गर्ने भन्नेबारे सरोकारवालाहरुको ध्यान जान आवश्यक छ ।










प्रतिक्रिया दिनुहोस्