जनकपुर । यही वैशाख १९ गते हुने माता जानकीको जन्मोत्सव यस पटक घरमै पूजापाठ गरी मनाइने भएको छ ।
जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले कोरोना भाइस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी उत्सवका कार्यक्रम स्थगित गरी यस पटक घरघरमै पूजापाठ गरी मनाउन आग्रह गरेअनुसार घरघरमै साँझपख दीपोत्सव भइरहेको छ ।
जन्मोत्सवका दिन जानकी मन्दिरमा नौ दिनसम्म बधाई गीत, प्रवचन, दूधमती स्नान, रामायण प्रदर्शन, जानकी जन्मको विवेचना, छठिहार, गर्भ गृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत) गङ्गा आरती, दीपोत्सवलगायत कार्यक्रममा देशविदेशका हजारौँ साधुसन्त र श्रद्धालुको सहभागितामा हर्षोल्लासपूर्वक मनाइने चलन रहेकामा यस पटक कलश स्थापना गरी दैनिक पूजापाठमात्र भइरहेको छ ।
माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ ।
यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँ–ठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेकामा यस पटक सबै कार्यक्रम स्थगित गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्