
काठमाडौं । शरीर तन्दुरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै गएकाे छ ।
संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य बनेको छ ।
योगको शाब्दिक अर्थ हाम्रो शरीरलाई मस्तिस्क हुँदै परम चैतन्यसँग जोड्नु हो । शरीर भित्रको ब्रम्ह तत्वलाई परब्रम्हमा जोड्नु नै योग हो, आत्मा र परमात्माको मिलन नै योग हो । शरीर तन्दुरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै गएको छ । २१ औं शताब्दीको व्यस्त जीवनशैलीमा रमाउने पुस्तका लागि त झन् योग अमूल्य बरदान नै साबित भएको छ ।
योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको वृद्धि हुने विश्वास गरिएको छ । सुरुका दिनमा विश्वका कयौं राष्ट्रहरुमा मात्रै योग गर्ने अभ्यास भएपनि पछिल्लो समय नेपालमा पनि यसको महत्व बढ्दै गएको छ। त्यसैले त हरेक उमेर समूहका व्यक्ति पनि शारिरीक रुपमा तन्दुरुस्त रहन योग गर्ने गरेका छन् ।
योग वास्तवमा ध्यानको आधार मात्र नभई शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, बैराग्यता जस्ता योगका अनेकौं आयाम छन् । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले सुरुवात गर्नुभएको योगमा १९५ वटा योग सूत्र समाहित छन्। योग सूत्रको श्रेय भने आदियोगी भगवान शिवलाई नै दिइन्छ ।
शिवबाट सुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋषिहरुमार्फत पुस्तौं पुस्ता यात्रा गरेर हामी माझ आइपुगेको विश्वास गरिन्छ । संसारमा सफल बन्ने धेरै मानिसहरूले योग र ध्यान साधनालाई आफ्नो जीवनको अभिन्न अंग नै बनाएको भेटिन्छ।
प्रतिक्रिया दिनुहोस्