काठमाडौं, साउन २९ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा संशोधन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ बोर्डबाट स्वीकृत गरी यही साउन १ गतेदेखि लागू गर्न नेप्सेलाई पठाइएकामा नेप्सेबाट सूचीकरण तथा वार्षिक शुल्कलाई पुुनरावलोकन गरी संशोधन गर्न माग गरेकामा बोर्डले स्वीकृति प्रदान गरेको जनाएको हो ।
बोर्डले ५० करोड रुपैयाँसम्म चुक्तापुँजी हुने कम्पनीका लागि सूचीकरण शुल्क शून्य दशमलव एक शून्य प्रतिशत वा न्यूनतम् १ लाख ५० हजार र वार्षिक शुल्क ५० हजार कायम गरेको छ ।
यसैगरी, ५० करोडभन्दामाथिका लागि सूचीकरण शुल्क शून्य दशमलव शून्य पाँच वा न्यूनतम् २ लाख ५० हजार र वार्षिक शुल्क एक लाख कायम गरेको जनाइएको छ ।
यसैगरी, डिबेन्चर/एकांक बचत वा समूहगत बचत सूचीकरण शुल्क ५० करोडसम्म निष्कासन गर्दा ६० हजार र वार्षिक शुल्क २५ हजार कायम गरेको छ ।
५० करोडभन्दामाथिका लागि सूचीकरण शुल्क एक लाख र वार्षिक शुल्क ५० हजार कायम गरिएको बोर्डले जनाएको छ ।
हाल समग्र धितोपत्र बजारको आकारसमेत विगतभन्दा व्यापकरुपमा बढेको र संगठित संस्थाहरुलाई पुँजीबजारमा आकर्षित गर्न दोस्रो बजारको सूचीकरण तथा वार्षिक शूल्कलाईसमेत समयसापेक्ष, न्यायोचित तथा बजारमैत्री बनाउन आवश्यक देखिएकाले यो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यससँगै नेप्सेमा थाँती रहेका सेयर सूचीकरण सुरु गरिने नेप्सेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्