२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


संस्कृत विश्वविद्यालयमा लागेको ताला अझै खुलेन


104
Shares

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिनुभएको छ । विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गर्नुभएको छैन । नेपाल विद्यार्थी संघले ११ बुँदे माग राखी गएको वैशाख १९ गते दाङको वेलझुण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेको थिए । तालाबन्दी गर्नुअघि नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले विभिन्न चार सूत्रीय माग राखी आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

प्रपासंघले पुस ९ गते कुलपति एवं प्रधानमन्त्री देउवालाई सम्बोधन गरी सेवा आयोगमा प्रजातन्त्रवादी प्राध्यापक संघको प्रतिनिधित्व नभएसम्म शिक्षक र कर्मचारीको खुला विज्ञापन रोख्नुपर्ने, प्रा। धु्रवचन्द्र ज्ञवालीको संयोजकत्वमा बनेको समितिले गरेको सिफारिसबमोजिम तत्काल बढुवाको विज्ञापन गर्नुपर्ने उल्लेल गर्दै पत्र पठाएको थियो । पत्रमा विश्वविद्यालय सभाको रिक्त पदहरूमध्ये प्रप्रासंघको तर्फबाट प्राचार्यमध्येबाट एक र सम्बन्धन प्राप्त विद्यापीठको प्राचार्यमध्येबाट एकजना गरी दुईजना नियुक्त गर्नुुपर्ने र विश्वविद्यालयका तीन पदाधिकारीसहित पाँच जनाको कार्यकारी परिषद्मा दुईजना संघबाट सिफारिस गरी आगामी सभामा पेस गर्ने गरी पत्रचार गर्नुुपर्ने पनि उल्लेख थियो ।

प्रप्रासंघका महासचिव राजेन्द्र गौतमद्वारा हस्ताक्षरित पत्रमा लेखिएको थियो– ‘निम्न विषयमा पदाधिकारीलाई निर्देशन दिन माग गर्दै त्यसो नगरिए विश्वविद्यालय सभाको ऐनबमोजिम वर्तमान पदाधिकारीलाई बिदा गरी नयाँ नेतृत्व चयनका लागि सादर अनुरोध गर्दछौं ।’ संघले पत्रमा आयोगमा तीनै जना पदाधिकारी एमाले सरकारले नियुक्ति गरेको उल्लेख गरेको छ ।विश्वविद्यालयका कुलपति एवं प्रधानन्त्रीको निजी सचिवालयलले गत माघ २३ गते वेलझुण्डीस्थित उपकुलपति कार्यालयलाई उक्त पत्रको जवाफ पठाएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।