गाईघाट, वैशाख १३ । भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ ।
त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले ‘कोभिड–१९’ को थप जोखिम हुन नदिन दुई हप्तादेखि ‘सिल’ गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ ।
गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए ।
उनले भने–‘गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ । गाउँमा मिल चल्दैन । घरमा तोरी छ । मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन सकियो ।’
स्थानीय कुमार भट्टराईले अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेको दुःखेसो व्यक्त गरे ।
उनी भन्छन्–‘बाहिर कतै चामल, तेल, नुन, साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केहीपनि छैन । वस्तुहरुलाई खुवाउने घाँस पनि छैन ।’
आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताइन् ।
उनले भनिन्–‘खेतबारीमा मकै गोड्ने बेला भयो । ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौं ।’
गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाले माग गरिन् ।
सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने–‘दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौं ।’
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको उनले जानकारी दिए । रासस










प्रतिक्रिया दिनुहोस्