३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात, चार सय ट्रक निर्यात


0
Shares

काठमाडौं । लकडाउन शुरु भएपछिको २९ दिनमा ७८ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैत ११ देखि यही वैशाख १० गतेसम्म ७७ हजार ५७८ मेट्रिक टन खाद्यान्न आयात भएको हो ।

मन्त्रालयका अनुसार लकडाउनको पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्ता आयात वृद्धि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ ।

दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ । सबैभन्दा धेरै दुग्धजन्य पदार्थको आयात बढेको छ ।

त्यसपछि तयारी औषधि र खाद्यान्नको आयात बढेको छ । तर फलफूल, दलहन,तरकारी र औषधिको कच्चा पदार्थको आयात भने घटेको छ ।

भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेकाले गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयात निर्यात ठप्प छ ।

यस अवधिमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २३० ट्रक भित्रिएको र १७९ ट्रक बाहिरिएको छ । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट नब्बे ट्रक भित्रिएको, सात ट्रक बाहिरिएको छ ।

भैरहवा नाकावाट १२४ ट्रक भित्रिएको, १५४ ट्रक बाहिरिएको छ । विराटनगर एकीकृत जांच चौकीमा १०२ ट्रक भित्रिएको, १०३ ट्रक बाहिरिएको छ ।

तातोपानी नाकाबाट यही वैशाख ४ गते यता पाँच कन्टेनर र एक ट्रक औषधिजन्य पदार्थ नेपाल भित्रिएका छन् ।