Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


बुढानिलकण्ठबाट ‘टोले गुण्डा’ पक्राउ


75.9k
Shares

काठमाडौं– महानगरीय प्रहरी वृत्त बुढानिलकण्ठले ‘टोले गुण्डा’ अनिल र सरोज गिरीको ‘ग्याङ’ लाई पक्राउ गरेको छ ।

ललितपुरको पाटन घर भएका अनिलको ग्याङले काठमाडौंको गल्फुटारमा रहेका रेष्टुरेन्टमा निःशुल्क खान खाने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

केही टोले गुण्डाहरू फरार छन् । फरार भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । अनिलसहितका केही युवालाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक अनिलसिंह ठकुरीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरूका विषयमा अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने उहाँले बताउनुभयो । यद्यपि, अपराध गर्नेहरूलाई कुनै पनि छुट नदिएर कारबाही हुने उहाँले बताउनुभयो ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले काठमाडौंमा अपराध गर्नेलाई कानूनअनुसारको हदैसम्मको कारबाही हुने चेतावनी दिनुभयो ।

‘अपराध गर्नेलाई कारबाही हुन्छ’, उहाँले भन्नुभयो, ‘गण्डागर्दीका नाममा सर्वसाधारणलाई दुःख दिनेमाथि प्रहरीले कुनै पनि हालतमा माफ दिँदैन ।’

सुनिल र अनिलसँग बेलाबेला आउने युवाहरूको समूहले गल्फुटारका होटेल र रेष्टुरेन्टमा आतंक मच्चाएपछि पीडितहरूको उजुरीको आधारमा प्रहरीले अप्रेशन सुरु गरेको हो ।

पक्राउ परेका अनिल र सरोजको ग्याङले धेरै ठाउँमा आतंक मच्चाएको थियो । यो ग्याङले अति नै गरेपछि प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ ।

अनिल र सरोजको ग्याङले प्रहरी, नेता, खेलकुदका केही व्यक्तिहरूको नाम लिएर रेष्टुरेन्टमा निःशुल्क खाने गरेको रेष्टुरेन्ट सञ्चालकहरू बताउँछन् ।