Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


२५ वटा सेवामा हड्ताल गर्न निषेध, उल्लंघन भए एक वर्षसम्म कैद


3.3k
Shares

काडमाडौं । सरकारले फोहोरमैला विसर्जन, ढुवानी प्रशोधन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवाका साथै २५ वटा सेवामा हड्ताल गर्न निषेध गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित गर्दै आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ अनुसार उक्त आदेश जारी गरेको जनाएको छ ।

हड्ताल निषेध गरिएकामा डाँक, तार वा टेलिफोन सेवा, जल–स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, हवाई अड्डा वा जहाजको देभाल, त्यसको मर्मत तथा सञ्चालनसँग सम्बन्धित काम, हवाई ग्राउन्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसमान ओसार-पसार गर्ने वा रेखदेख वा थन्क्याउने, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा हड्ताल निषेधित सूचीमा छन् ।

यसैगरी हातहतियारसँग सम्बन्धिन नेपाल सरकार रक्षा व्यवस्थाको सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षासँग सम्बन्धित काम, खानेपानी सञ्चालन एवं वितरण, औषधि निर्माण तथा बिक्री वितरण, बैंकिङ, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तुहरू, मौसम र बाढी सम्बन्धी पूर्वानुमान र सूचना, मास्क, ह्यान्ड सेनिटाइजर, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवा उक्त सूचीमा समावेश छन् ।

निषेध गरिएका सेवामा हड्ताल गर्न वा त्यसमा भाग लिन कुनै व्यक्तिले अरुलाई दुरुत्साहन गरेमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनको दफा ५ मा उल्लेख छ । यसैगरी हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा उसलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय गरिने प्रावधान छ ।