
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताउनुभएको छ ।
बुधबार नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताउनुभएको हो ।
अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा पुँजीबजार सुधारको काम गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । उहाँले पुँजीबजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीहरूको समस्यालाई सरकारले गम्भिरताकासाथ हेरर अनुगमनसमेत गरिरहेको बताउनुभयो ।
मन्त्री शर्माले पुँजीबजारलाई व्यवस्थित गर्ने बारेमा सरकार चिन्तित रहँदै आएको पनि स्पष्ट पार्नुभयो । अहिले देखिएका पुँजीबजारका समस्या समितिले दिएको सुझावको आधारमा सम्बोधन गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री शर्माले अर्थ मन्त्रालयले निरन्तर रूपमा इमान्दारीताका साथ पुँजीबजार लगानीकर्ताहरूको रक्षाको लागि काम गरिरहेको पनि दाबी गर्नुभयो ।
मन्त्री शर्माले अर्थमन्त्रालय सधैँ नियमनकारी निकायहरू स्वायत्तता रहनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले पुँजीबजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरू स्वायत्तता नै रहेको दाबी गर्नुभयो ।
मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शिता सहितको स्वायत्तता खोज्नुपर्ने बताउनुभयो । आफ्नो क्षेत्रको जवाफदेही नहुने र स्वायत्तता मात्रै खोज्यो भने कुरा मिल्ने मन्त्री शर्माको भनाइ छ ।
मन्त्री शर्माले नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐना बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले धितोपत्र बजार अर्थतन्त्रको ऐनको बनाउन आवश्यक सहजिकरण अर्थ मन्त्रालय गर्न तयार रहेको बताउनुभयो ।
धितोपत्र बजारको समस्या समाधान गर्नको लागि नेपालको पुँजीबजारलाई अन्तराष्ट्रिय स्तरको आधुनिक प्रविधिमैत्री बनाउन आवश्यकता रहेको मन्त्री शर्माले बताउनुभयो । बजारलाई प्रभावकारी बनाउनको लागि नयाँ प्रविधिको खाँचो रहेको भन्दै मन्त्री शर्माले नियमनकारी निकायहरूले छिटो र छरितो प्रविधि ल्याउन आग्रह गर्नुभयो ।
अर्थमन्त्री शर्माले त्यसको लागि मन्त्रालय नियमनकारी संस्थाहरूलाई सहुलियत र सहजीकरण गर्न तयार रहेको बताउनुभयो । नेपाली पुँजीबजारमा अन्तर्राष्ट्रिय स्तरको नयाँ प्रविधि ल्याएर बजारलाई व्यवस्थित बनाएमात्रै समस्या समाधान हुनसक्ने उहाँको भनाइ छ ।
मन्त्री शर्माले लगानीकर्ताको हीत संरक्षणको लागि नियामकको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री शर्माले अहिले चल्दै आएको स्वचालित कारोबार प्रणालीलाई अझै विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । पुँजीबजार सबै लगानीकर्ताले सहज रूपमा लगानी गर्नसक्ने हुनुपर्ने उहाँको भनाइ छ ।
मन्त्री शर्माले मौद्रिक नीतिमा ४÷१२ करोडको सीमा लगायतका विषयमा यथोचित सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक रहेको बताउनुभयो ।
उहाँले पुँजीबजार विकासका लागि नियामक निकायहरूबीच उचित समन्वयको खाचो रहेको भन्दै मन्त्री शर्माले नियामक निकायहरूलाई समन्वयात्मक ढङ्गले काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने बताउनुभयो ।
अध्यक्ष हमालले अबको चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने बताउनुभयो । उहाँले बजारको स्तर अभिवृद्धि गर्न आगामी चार महिनाभित्र गैरआवासीय नेपालीलाई पनि सेयर बजार लगानी गर्ने उपयुक्त वातावरण बनाउने दाबी गर्नुभयो ।
अध्यक्ष हमालले बैंकहरू मर्जर हुँदा लामो समयसम्म लगानीकर्ताको शेयर बन्दक हुने समस्याको लागि सम्बन्धित निकायहरूबीच छलफल भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्